पसल भाडामा ५० प्रतिशतसम्म छुट दिन माग

पोखरा । आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो ।

समितिद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गरे । समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ ।

‘घरभाडा बेलैमा तिर्न नसकेका कारण व्यवसायीहरू विस्थापित हुनुपरिरहेको छ’, समितिका अध्यक्ष न्यौपानेले भने, ‘सङ्कटको अवस्थामा घरधनीले व्यवसायीको मर्का बुझिदिनुस् भन्ने हाम्रो माग हो ।’

कोभिड–१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक सङ्कटका कारण झन्झ्न मारमा परेको उनले बताए । आर्थिक मन्दीका कारण १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भएको अनुमान समितिको छ ।

अधिकांशले भाडा तिर्न नसकेर व्यवसायबाट हात धुनुपरेको बताउने गरेको समितिका प्रथम उपाध्यक्ष उमापति ढकालले बताए । उनले व्यवसायीहरू विषम परिस्थितिबाट गुज्रिरहेकाले घरभाडा वृद्धि नगर्न र बढेको भाडादर मिनाहा गरिदिन माग गरिएको बताए ।

समयमा घरभाडा नतिर्ने व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्नसमेत समितिले अनुरोध गरेको छ । ‘यस्तो बेला घरधनीले राहतको प्याकेज ल्याउन जरुरी छ, आखिर व्यवसायी र घरधनी भनेको एकअर्काका सहयोगी पनि त हुन्’, उनले भने ।

सातदोबाटो फ्लाइओभरको फाइनल डिजाइन बन्दै, रथ यात्राको कारण एकान्तकुनामा समस्या Read Previous

सातदोबाटो फ्लाइओभरको फाइनल डिजाइन बन्दै, रथ यात्राको कारण एकान्तकुनामा समस्या

बेनीबाट मुक्तिनाथ जाने बाटो अबरुद्ध Read Next

बेनीबाट मुक्तिनाथ जाने बाटो अबरुद्ध