काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर-कमला सडकखण्ड स्तरोन्नतिले गति लिएको छ । विस्तार सुरू गरिएको २ वर्षसम्म खासै गति लिन नसकेको उक्त सडक निर्माणले पछिल्लो समय भने तीव्रता पाएको हो ।
हाल दुई लेनमा रहेको यस सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएको हो । कञ्चनपुर–कमला सडक विस्तार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले अहिले सडक विस्तारले गति लिएको बताए । उनले अहिले सडकमा बेस बिछ्याउने, वाल लगाउने, कल्भर्ट निर्माण, पुल निर्माण लगायत काम भइरहेको बताए ।
उनका अनुसार वर्षाअघि नै २१ वटा पुलको फाउन्डेसन निर्माण भइसक्ने छ । उनले फान्डेसन निर्माण गरेर पोल ठडाएपछि बाढीले क्षती नपुर्याउने बताए ।
साथै उनले सडकमा सब बसे बिछाउने काम भइरहेको बताए । उनले बर्खापछि मात्र सडकमा कालोपत्रेको काम सुरू गर्ने जानकारी दिए ।
‘अहिले तीव्र गतिमा काम भइरहेको छ, अहिले पुलरूको फान्डेसन बनाइरहेका छौँ। बर्खा आउन लागेको कारण छिटो फाउन्डेसन बनाएर राख्नु पर्नेछ नत्र बाढीले बगाउँछ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने, ‘वर्षा सकिने बित्तकै कालोपत्र गर्ने तयारी छ ।’
उनका अनुसार कमला–कञ्चनपुर खण्डमा मासिक ५ प्रतिशत भौतिक प्रगति हुने गरी काम भइरहेको छ । उनले सिराहाको ४७ किलोमिटरमा कालोपत्रका लागि ठेक्का लागि सकेको जानकारी दिए । उनका अनुसार अबको २ महिना पछि कमला–कंचनपुर खण्डमा कालोपत्रको काम सुरू हुने छ ।
‘अहिले कमला कञ्चनपुरमा मासिक ५ प्रतिशतले प्रगति हुने गरी काम भइरहेको छ, २ महिना पछि कालोपत्रको काम पनि सुरू हुन्छ,’ उनले चाणक्य पोष्टसँग भने ।
त्यस्तै, आयोजना अन्तर्गत २५ वटा पुल मध्ये २१ वटा पुल निर्माणको काम भइरहेको उनले बताए । उनका अनुसार २१ वटा पुलरू पाइल फाउन्डेशन अर्थात पिलर गाड्ने काम भई सब स्ट्रक्चर र सुपर स्ट्रक्चर निर्माणको काम भइरहेको छ । ४ वटा पुल भने ओपन फाउन्डेसन अर्थात जग खन्ने काम भइरहेको छ ।
त्यसैगरी, आयोजनामा २०० कल्भर्ट निर्माणको काम भइरहेको छ । ५० चिनियाँसहित ५०० बढी जनशक्ति सडक निर्माणमा जुटिरहेका छन् । चालु आर्थिक वर्षमा आयोजनामा २० प्रतिशत खर्च भएको उनले जानकारी दिए । आयोजनामा हालसम्म डेढ अर्ब रुपैयाँ खर्च भइसकेको उनले बताए ।
आयोजनाको स्तरोन्नतिका लागि सम्झौता भए लगतै कोभिड १९ सुरू भएका कारण निर्माणले गति लिन नसकेको एशियाली विकास आयोजनाका आयोजना निर्देशक राकेश महर्जनले बताए । निर्माण कम्पनीले कमला कञ्चनपुरमा चालु आवभित्रै कालोपत्र सुरू गर्ने उनले बताए ।
२०७७ कात्तिक १३ गतेदेखि स्तरोन्नति सुरू गरिएको ८६.८२ किलोमिटर लामो सडकको हालसम्म भौतिक प्रगति करिब ३० प्रतिशत हाराहारीमा रहेको छ । आगामी कात्तिकसम्म सम्पन्न गर्नुपर्ने भए पनि अझै ७० प्रतिशत काम बाँकी छ ।
निर्माण अवधि ६ महिना मात्रै भए पनि सडक निर्माण सकिन अझै डेढ वर्ष लाग्ने आयोजनाले जनाएको छ । समयमै नसकिने भएपछि म्याद थपका लागि तयारी भइरहेको उनले जानकारी दिए ।
यो सडक भ्याटसहित १५ अर्ब ६६ करोड रुपैयाँमा निर्माण सम्पन गर्ने गरी चिनियाँ कम्पनी चाइना रेलवे इन्जिनीयरिङ ग्रुप करपोरेसन (सीआरइजीसी) ले ठेक्का पाएको छ ।