काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन वृद्धि भएको छ । मंगलबारदेखि उकालो लागेको नेप्सेले लगातार सोही लय कायम राखेको हो ।
सूचकसँगै कारोबार रकम पनि उत्साहजनक रहेको छ । आज २ अर्ब ३० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बिहीबार नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेको छ । यसदिन २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ को परिसूचक बढेको छ भने ४ को घटेको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.५८ प्रतिशतले बढेको छ ।
आज आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स साढे ९ करोड र शिवम् सिमेन्ट साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दोल्ती पावर र भूगोल इनर्जीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।