काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत दोस्रोखण्ड (कलंकी-नारायणगोपाल चोक)को मुख्य सडकको काम सुरू नहुँदै सर्भिस लेन निर्माण सुरू भएको छ । मुख्य सडक निर्माणका लागि चिनियाँ टोली नआएपछि सरकारले आफूले निर्माण गर्नुपर्ने सर्भिस लेनको काम अघि बढाएको हो ।
चक्रपथ विस्तार अन्तर्गत दोस्रो चरणमा कलंकी-महाराजगञ्जसम्म ८ लेनको सडक निर्माण गर्ने योजना छ । यो सडक चीन सरकारले अनुदानमा बनाइदिन लागेको हो । चीन सरकारले बनाउने भनेको ३ वर्ष बिते पनि कोरोनाको बाहना र साइट क्लियरेन्स नभएको भन्दै अझै चिनियाँ टोली आएको छैन ।
मुख्य सडक चीन सरकारले बनाइ दिने भए पनि सर्भिस लेन, युटिलिटी करिडोर लगायत संरचना नेपाल आफैंले बनाउनुपर्ने भएकाले काम सुरू गरिएको चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । ८.२ किलोमिटर उक्त सडक खण्डमा सर्भिस लेन, ढल व्यवस्थापन लगायत काम भइरहेको छ ।
सम्झौता अनुसार उक्त खण्डमा नेपालले र चीनले गर्ने काम फरक छ । चीनले सबै काम गर्ने होइन । ३८ मिटरको बाउन्ड्री भित्रको काम मात्र चिनियाँ टोलीले हेर्ने भएकोले त्यस बाहेकका काम नेपालले आफैं गर्नुपर्ने भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले बताए ।
उनले चक्रपथ विस्तारका क्रममा बन्ने ग्रीनबेल्ट, यूटिलिटी कोरिडोर सबै नेपालले आफै गर्नुपर्ने भएकाले चिनियाँ टोली नआए पनि काम सुरू गरिएको बताए ।
‘चक्रपथ विस्तारको सर्भिसलेन, ग्रीनबेल्ट, यूटिलिटी करिडोर निर्माणको काम हाम्रै मातहतमा छ, त्यसैले सुरू गरिएको हो,’ उनले चाणक्य पोष्टसँग भने ‘उनीहरू आएनन् भन्दैमा हामी केही नगरी कुरेर बस्ने कुरा हुँदैन, अघि पछि जहिले भए पनि हामीले गर्ने भएकोले गर्न थालेको हो ।’
उनले कोभिडका कारण ४ वर्षसम्म चिनियाँ टोली नेपाल नआएको बताए । उनले सर्भिस लेन बाहेकको ३८ मिटरको बाउन्ड्रीमा चिनियाँ टोलीले सडक विस्तारको काम गर्ने जानकारी दिए ।
विज्ञहरूले भने सरकारले हतारोमा सर्भिसलेनको काम सुरू गरेको बताएका छन् । मुख्य सडक निर्माण नभई दायाँबायाँ मात्र निर्माण अघि बढाउँदा भविष्यमा भत्काउनुपर्ने हुनसक्ने समेत उनीहरूको भनाइ छ ।
चिनियाँ टोली आउने अझै टुंगो छैन
साइट क्लियरेन्सको काम नसकिएको भन्दै चिनियाँ टोली नेपाल आएका छैनन् । विगतमा पहिलो खण्डमा धेरै आलोचना खेपेको चिनियाँ कम्पनीले साइट क्लियर भएपछि मात्र काम अघि बढाउने भन्दै काम सुरू नगरेको हो ।
प्रवक्ता अधिकारीले सबै साइट क्लियर नभएसम्म चिनियाँ टोलीले काम सुरू नगर्ने भनेकाले चिनियाँ टोली नेपाल आउने टुंगो नलागेको बताए । ‘चिनियाँले साइट क्लियर गरेपछि आउछु भनेका छन्, ३ वटा पोल हटाउन र केही बस स्टेसन हटाउन सकिएको छैन, यो हटाउन पहल गरिरहेका छौँ,’ अधिकारीले भने ।
आयोजनाका अनुसार अझै साइट क्लियरेन्सको केही काम बाँकी छ । अझै विभिन्न ठाउँका मन्दिर, पोल र बस स्टपहरू हटाउन बाँकी रहेको छ । मन्दिर हटाउनका लागि स्थानीयले अन्यत्रै जग्गा माग गरेका छन् । हटाउनु पर्ने पोलमध्ये ट्रान्सफमरसहित भएको ३ वटा पोललाई ग्रिन वेल्टमा पार्ने गरी डिजाइन गर्न सुझाइएको छ ।
चक्रपथ सडकको सीमा चौडाइ ६२ मिटर कायम गरिएको छ । स्वयम्भूको चैत्य भने नभत्काउन सहमति भइसककेको छ । यसअघि कलंकीदेखि–धोबी खोलासम्मको ११.६ किलोमिटर विस्तार गर्ने योजना रहेको थियो । हाल नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने भएको हो । बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने योजना रहेको आयोजनाले जनाएको छ ।
चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली मंसिर २०७८ मा साइट भिजिट गर्न नेपाल आएको थियो ।
यो सडक चीन सरकारको अनुदानमा बनिरहेको छ । यसअघि चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी १०.३९ किमी) ८ लेनमा विस्तार भइसकेको छ । पहिलो खण्ड गलत डिजाइनमा बनाइएको, सहरी सडकभन्दा पनि एक्सप्रेस हाइवे बनाइएको र ढिलो काम भएको भन्दै आलोचना भएको थियो ।
सवारी चाप व्यवस्थापनका लागि चालू आवमा कलंकी–नारायणगोपाल चोक क्षेत्रमा ढल, सर्भिस रोडका लागि १ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आवमा यस आयोजनाका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
दोस्रो चरणमा विस्तारका लागि साइट संरचना हटाउने काम ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतको पोललगायतका संरचना सार्ने काम भइरहेको छ ।
चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरू गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण सुरू गर्नेछ । निर्माण सुरू भएको ३ वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड– १९ को संक्रमणका कारण देखाउदै ४ वर्ष पर धकेलिएको चक्रपथ सडक विस्तार चिनियाँ प्राविधिक आए पछि मात्र अध्ययनको काम सुरू हुने बताइएको छ ।