काठमाडौं । अब विदेश घुम्न जाने नेपालीले कर तिर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न जारी गरेको आर्थिक विधेयकमार्फत यस्तो व्यवस्था गरेको हो ।
विधेयकको दफा २२ मा वैदेशिक पर्यटन शुल्क सम्बन्धी व्यवस्था गरिएको छ । सो व्यवस्था अनुसार अब नेपालबाट टुर प्याकेज खरिद गरी विदेश घुम्न जानेले थप ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क तिर्नु पर्नेछ ।
वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत, फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखाइनका बखत वैदेशिक पर्यटन शुल्क तिर्नु पर्ने व्यवस्था गरिएको छ ।
यसअघि विदेश घुम्न जाँदा टुर प्याकेजको रकम बाहेक थप कर तिर्नुपर्दैन्थ्यो ।
यस्तै, वैदेशिक अध्ययनमा जानेले पनि ३ प्रतिशत कर तिर्नुपर्ने भएको छ । यसअघि यस्तो कर २ प्रतिशत थियो ।