काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरूङमार्ग अबको ६ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने भएको छ । जापानी कम्पनी हाज्मा आङ्लो कर्पोरेशनले निर्माण गरिरहेको नेपालकै पहिलो उक्त सुरूङमार्ग कात्तिकसम्म ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको हो ।
सुरूङमार्ग अन्तर्गत अहिले समानान्तर रुपमा मुख्य (९ मिटर फराकिलो) र रेस्क्यु (४ मिटर) गरी दुई वटा सुरूङ निर्माण भइरहेका छन् । तीमध्ये मुख्य सुरूङ दशैंअघि नै ‘ब्रेक थ्रु’ हुने लक्ष्य राखिएको छ ।
नागढुंगा-नौबिसे सुरूङमार्गको कन्सल्ट्यान्टतर्फका इन्जिनीयर रमेश कोइरालाले दशैंअघि नै मुख्य सुरूङको ‘ब्रेक थ्रु’ हुने जानकारी दिए ।उनका अनुसार अब मुख्य टनेल करिब ६०० मिटर र आपतकालीन (रेस्क्यु) टनेल २०० मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ ।
‘अहिले सुरूङ खन्ने काम ८२ प्रतिशत बढी सकिसकेको छ । अब मुख्य सुरूङ ६०० मिटर र रेस्क्यु टनेल २०० मिटर मात्र खन्न बाँकी छ,’ उनले भने ‘कुनै ठूलो समस्या नआए अहिल्यकै गतिमा सुरूङ खन्दा दशैंअघि (असोज मसान्तसम्म) ‘ब्रेक थ्रु’ हुन्छ ।’
२ हजार ६८८ मिटर मुख्य सुरूङमध्ये हालसम्म २ हजार २.६० मिटर खनिसकिएको इन्जिनीयर कोइरालाले जानकारी दिए । जसमा काठमाडौंतर्फ ९२५.८० मिटर र धादिङतर्फ १ हजार ७६.८० मिटर मुख्य टनेल खनिएको छ ।
त्यसैगरी, आपतकालीन सुरूङको २ हजार ५५७ मिटर मध्ये हालसम्म २ हजार ३०५.८० मिटर सुरूङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार १२१.७० मिटर र धादिङतर्फ १ हजार ८४.१० मिटर सुरूङ खन्ने काम सम्पन्न भएको कोइरालाले बताए ।
त्यस्तै, हालसम्म धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण सम्पन्न भएको छ । काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ४८.१५ मिटर गरी कुल ८६.२५ मिटर क्रस प्यासेज निर्माण भएको छ ।
आयोजनाको हालसम्म समग्रमा ५३.४२ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, वित्तीयतर्फ ५८.३२ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।
गाडी गुड्न भने अझै डेढ वर्ष लाग्ने
आगामी ६ महिनाभित्र सुरूङमार्गको ‘ब्रेक थ्रु’ भए पनि गाडी गुड्न भने अझै डेढ वर्ष लाग्ने भएको छ । सुरूङ खनिसकिएपछि फिनसिङ गर्न झन्डै १ वर्ष लाग्ने इन्जिनीयर कोइरालाले बताए ।
आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको उनले बताए । सुरूङमार्ग ‘ब्रेक थ्रु’पछि लाइनिङ (प्लास्टर गर्ने काम), बत्ती जडान, टेलिफोन जडान लगायत फिनसिङका काम गर्न करिब १ वर्ष लाग्ने उनको भनाइ छ ।‘अहिले सुरूङ खन्ने र फिनसिङको काम एकैपटक भइरहेको छ । ‘ब्रेक थ्रु’पछि १ वर्षभित्र भित्र गाडी गुडाउने हाम्रो योजना छ,’ उनले भने ।
उनका अनुसार हालसम्म लाइनिङ (प्लास्टर गर्ने काम) करिब ४० प्रतिशत सकिएको छ भने अझै ६० प्रतिशत बाँकी छ । लाइनिङको काम सकिएपछि बिजुली बत्ती जडान, सुरक्षका आवश्यक अन्य उपकरणहरू जडान गरिने उनले बताए ।सुरूङमार्गमा राखिने सबै उपकरण तथा सामग्री जापानबाट ल्याइने उनले जानकारी दिए ।
४२ महिनाभित्र सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा शिलान्यास गरिएको सुरूङमार्ग निर्माण कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा निर्माण अवधि १ वर्ष थपिएको छ । सो अनुसार आगामी चैतसम्म काम सम्पन्न गर्नुपर्नेछ ।
नेपालकै पहिलो सुरूङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ ।
आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा अनुमान गरिएको छ । जसमा जापान सरकारले ४० वर्षका लागि ०.०१ प्रतिशत सहुलियत ब्याजदरमा १६ अर्ब ऋण दिने र ६ अर्ब नेपाल सरकारको लगानी रहने छ ।