वर्षायाममा सडक बन्द भए खुलाउन यस्तो छ सडक विभागको तयारी

काठमाडौं । मनसुन सुरू हुन लागेसँगै सडक विभागले आवश्यक तयारी थालेको छ । वर्षायाममा बाढी, पहिरो लगायत कारण सडक बन्द हुने भएकाले त्यसलाई खुलाउन विभागले आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको तयारी थालेको हो ।

सडक विभागका प्रवक्ता रामहरी पोखरेलका अनुसार निर्माणका ठेक्का लागेका स्थानमा निर्माण व्यवसायी आफैले पहिरो हटाउनु पर्ने हुन्छ । अन्य सडकमा विभागले डिभिजनका हेभिइक्यूमेन्टलाई परिचालन गरेर बाढीपहिरो हटाउने गरेको छ ।

निर्माण व्यवसायीले आफ्नो क्षेत्रभित्र पर्ने सडकमा पहिरो तथा क्षती हुँदा हटाउन नमाने उसले पाउने रकममा कटौती गरेर विभाग आफैले हटाउने समेत व्यवस्था गरिने पोखरेलले बताए । वर्षातको कारणले गर्दा आकष्मिक मर्मत सम्भारका लागि पूर्वतयारीका साथ तयारी गरिने गरेको उनले बताए ।

‘हामी डिभिजन कार्यलयहरूमा हेभिइक्यूपमेन्टहरू तैनाथ राखेका छौँ, बाढीपहिरो आउँदा नजिकै रहेका डिभिजनले हटाउने गर्छ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ‘निर्माणको ठेक्का लागेको अवस्थामा निर्माण व्यवसायी आफैले रेस्क्यूको काम गर्नुपर्छ ।’

बाढी, पहिरो आउने सम्भावित ठाउँ हेरेर ८/१० किलोमिटर दूरीमा मेसिन र कर्मचारी तैनाथ गरिने गरेको उनले बताए । पहिरो जोखिम ठाउँमा सूचना आउना साथ कर्मचारी र मेसिन खटाइने गरेको उनले जानकारी दिए । सडक मुनिबाट पहिरो गए विभागबाट एक्स्पर्टहरू तयार गरेर मर्मत गरिने गरेको उनले बताए ।

मर्मत सम्भार ४ वटा संघीय सडक निर्देशनालयहरूलाई जिम्मा दिइएको छ । सुर्खेत डिभिजनले ७ र ६ प्रदेशको मर्मत सम्भार हेर्ने गरेको छ । पोखरा डिभिजनले ४ र ५ प्रदेशको मर्मत सम्भारको जिम्मा पाएको छ ।

दमक र हेटौंडा डिभिजनले प्रदेश २ र १ प्रदेशको सडक मर्मत सम्भार गर्ने गरेको छ । काठमाडौं डिभिजनले ३ नम्बर प्रदेशको मर्मत सम्भारको जिम्मा पाएको छ ।

यी कार्यालय अन्तर्गत अन्तर्गत ३३ वटा डिभिजन छन् । यसले ८० वटा राजमार्गको नेटवर्कको मर्मत सम्भारको काम गर्ने गरेको छ । त्यसलाई सहयोग गर्न यान्त्रिक कार्यालयहरू रहेका छन् । यान्त्रिक कार्यलयका ९ वटा डिभिजन छन् । यी सबै डिभिजनमा इन्जिनीयर र सब इन्जिनीयर हुन्छन् । इन्धन आपूर्ति डिभिजन कार्यालयबाट आपूर्ति गरिन्छ ।

हेभिइक्यूपमेन्टको अवस्था

विभागसँग २१८ हेभी इक्यूपमेन्टहरू छन् । एस्काभेटर, लोडर, ट्रिपर, ट्रक, रक ब्रेकर, डम्पर, रोडबेड टेलर लगायतका उपकरणहरू रहेका छन् ।

फिल्डमा ९३ वटा इक्यूपमेन्टहरू राखिएको छ । १२५ वटा उपकरणहरू स्ट्यान्ड बाई राखेको छ । कुनै मेसिन बिग्रेको भए यस्ता स्ट्यान्ड बाई राखिएका उपकरणहरूसँग परिवर्तन गरी प्रयोग गरिने गरिन्छ ।

विभागका अनुसार ४२ वटा लोडर मध्ये १९ वटा फिल्डमा छन् भने २३ वटा स्ट्यान्ड बाई रहेका छन् । जेसीभी टाइपको ब्याक होल्ड लोडर ३२ वटा छ । त्यस मध्ये ९ वटा फिल्डमा छन् भने बाँकी २३ वटा स्ट्यान्ड बाई राखिएको विभागले जनाएको छ । इस्काईभेटर २५ वटा मध्ये १० वटा फिल्डमा र १५ वटा स्ट्यान्ड बाई छन् ।

डोजर ५ वटा मध्ये एउटा मात्र फिल्डमा छन् भने अन्य स्ट्यान्ड बाई राखिएको छ । डोजर विभागले कम प्रयोग गर्ने गरेको छ । त्यसको तिखो चेनले सडकमा भएको पिच भत्काउने गरेकाले कम प्रयोग गर्ने गरेको प्रवक्ता पोखरेलले बताए । उनका अनुसार त्यसको सट्टा रबर विल भएका उपकरणहरू प्रयोग गर्ने गरेको छ ।

३५ वटा ट्रिपर मध्ये ७ फिल्डमा छन् भने बाँकी २८ वटा स्ट्यान्ड बाई छन् । सडक खोल्नु पर्यो भने यो प्रयोग गरिन्छ । निर्माण सामग्री ओसारपसार गर्न पनि यो उपकरण प्रयोग हुन्छ । रोडबेड टेलरहरू १२ वटा स्ट्यान्ड बाई राखिएको विभागले जनाएको छ ।

 

काठमाडौं ‘भ्यू टावर’ २६ तलाको बनाइने, १४ तला थप्ने तयारी Read Previous

काठमाडौं ‘भ्यू टावर’ २६ तलाको बनाइने, १४ तला थप्ने तयारी

अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण Read Next

अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण