काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ २२ गतेलेखि हकप्रद सेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात् १:०.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर विक्री गर्ने भएको हो ।कम्पनीको हकप्रद सेयरमा असार १० गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बीप्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि वैशाख २७ गते बुकक्लोज तोकेको छ । सो अनुसार वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
हाल १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रदबाट प्राप्त रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने जनाएको छ ।
कम्पनीले हाल ४.५ मेगावाटको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले दुवै आयोजनाबाट व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।