काठमाडौं । नेपाली सेयर बजारमा सूचीकृत कम्पनीहरूको सेयर कारोबार वित्तीय अवस्था हेरेर भन्दा पनि धर्का हेरेर र लहडमा भरमा हुने गरेको आरोप छ । वित्तीय अवस्था बलिया भएका कम्पनीकोभन्दा कमजोर भएका र धेरै चलखेल हुने कम्पनीको सेयर मूल्य उच्च हुने गरेको छ ।
यसैको एउटा उदाहरण हो, समान हैसियतमा गाभिन लागेका डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ।
बुधबार मात्रै डिप्रोक्सले आदर्शलाई बराबरी हैसियत अर्थात् १:१ सेयर अनुपातमा गाभ्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । तर, बराबर हैसियतमा गाभिन लागेको आदर्शको सेयर मूल्य डिप्रोक्सकोभन्दा दोब्बर अर्थात् १०० प्रतिशत बढी छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार बिहीबार ११ः४५ बजेसम्म डिप्रोक्सको सेयर मूल्य प्रतिकित्ता ६३५ रुपैयाँ रहेको छ । जबकि आदर्श लघुवित्तको सेयर मूल्य डिप्रोक्सकोभन्दा दोब्बर बढी अर्थात् प्रतिकित्ता १२७० रुपैयाँमा कारोबार भइरहेको छ ।
सामान्यतया समान हैसियतमा गाभिने वा मर्ज हुने कम्पनीको सेयर मूल्यमा १०/१५ प्रतिशतसम्म फरक हुनुलाई स्वभाविका मानिन्छ । यी दुई कम्पनीको हकमा भने १०० प्रतिशतको फरक रहेको हो ।
अहिले आदर्शको सेयर मूल्य धेरै भए पनि एकीकृत कारोबारपछि भने आधा घट्ने देखिन्छ । एकीकृत कारोबारपछि आदर्शको सेयर पनि डिप्रोक्सकै नाममा कारोबारमा आउने छ । त्यसोहुँदा आदर्शको सेयर मूल्य गाभिएपछि डिप्रोक्सकै सरह हुनेछ ।
हाल डिप्रोक्सले चुक्तापूँजी १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ रहेको छ भने आदर्शको २ करोड ४८ लाख रुपैयाँ छ । एकीकृत कारोबारपछि नयाँ संस्थाको चुक्ता पूँजी १ अर्ब ५५ करोड पुग्नेछ ।
यस्तो छ वित्तीय अवस्था
चालु आर्थिक वर्षको चैत मसान्तसम्म डिप्रोक्स लघुवित्तले ३९ करोड ५६ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा डिप्रोक्सको नाफा ३६.३५ प्रतिशतले घटेको छ ।
चैतसम्म डिप्रोक्सको खुद ब्याज आम्दानी ९४ करोड ९ लाख र संचालन मुनाफा ३९ करोड ६५ लाख रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ७५ करोड निक्षेप संकलन र ८ अर्ब १७ करोड सापटी लिई कुल १८ अर्ब ९१ करोड ऋण लगानी गरेको छ ।
हाल १ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ५८ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब १५ करोड रुपैयाँ संचित छ । डिप्रोक्सको प्रतिसेयर आम्दानी २४.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१३.५८ रुपैयाँ, र खराब कर्जा ४.४९ प्रतिशत छ ।
यसैगरी, चैतसम्म आदर्श लघुवित्तले २ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आदर्शको नाफा ८८.५६ प्रतिशतले घटेको छ ।
यस अवधिमा आदर्शको खुद ब्याज आम्दानी १ करो २५ लाख र संचालन मुनाफा ३ लाख ९३ हजार रुपैयाँ छ । हाल २ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको आदर्शको रिजर्भ कोषमा ६४ लाख ९१ हजार रुपैयाँ संचित छ ।
चैत मसान्तसम्म आदर्शले १५ करोड ७४ लाख रुपैयाँ निक्षेप र ९ करोड ४३ लाख रुपैयाँ सापटी लिई २६ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । आदर्शको प्रतिसेयर आम्दानी १.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.१३ रुपैयाँ र खराब कर्जा ३.५२ प्रतिशत रहेको छ ।