काठमाडौं महानगरको ‘न्यूरोड ब्यूटीफिकेशन’, फेरियो मुहार (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशकै प्रमुख व्यापारिक केन्द न्यूरोडलाई लक्षित गर्दै ‘न्यूरोड ब्यूटीफिकेशन’ योजना अघि बढाएको छ । महानगरले न्यूरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्मको क्षेत्रलाई आकर्षक, सफा, सुन्दर बनाउन उक्त योजना अघि बढाएको हो ।

महानगरको नेतृत्वमा मेयरमा बालेन्द्र शाह आएसँगै यो योजना अघि बढेको हो । महानगरको यस योजना अनुसार न्यूरोड, वसन्तपुर, असन क्षेत्रको फूटपाथको स्तरोन्नतिका साथै सडकबत्ती राख्ने काम गरिने छ । सोही अनुसार अहिले महानगरले न्यूरोड गेटदेखि असनसम्मको फूटपाथमा आकर्षक कलात्मक रेलिङ राखिसकेको छ ।

महानगरपालिकाले न्यूरोड ब्यूटीफिकेशन अन्तर्गत विद्युत प्राधिकरणसँग सहकार्य गरेर सडक बत्ती राख्ने कार्यक्रम बनाएको छ । महानगरका सार्वजनिक निर्माण विकासका विभागीय प्रमुख रामबहादुर थापाले न्यूरोेडदेखि हनुमानढोका दरबार क्षेत्र हुँदै इन्द्रचोक असन क्षेत्रमा विद्युतीय पोल राख्ने र सडक बत्ती जडान गर्न लागिएको जानकारी दिए ।

यसका साथै हनुमानढोका क्षेत्रमा ढुंगा छाप्ने काम पनि गरिने उनले बताए । उक्त क्षेत्रमा १० इन्च हाराहारी चौथाइको ढुंगा बिछ्याइने उनले जानकारी दिए

‘हामीले पर्यटकीय क्षेत्र भएकोले न्यूरोडमा सडक बत्ती राख्ने, हनुमानढोकादेखि इन्द्रचोक असनसम्म भुइँमा ढुंगा छाप्ने योजना अघि बढाएका छौँ,’ थापाले चाणक्य पोष्टसँग भने ।

यस्तै, महानगरपालिकाले आगामी वर्षको आयोजनामा कुमारी घर सुधार, संस्कृत विश्व विद्यालय व्यवस्थापन र हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्गको काम पनि गर्ने जनाएको छ । विभिन्न निकायबाट न्यूरोड, हनुमानढोका, असन, इन्द्रचोकमा ऐतिहासिक झल्काउने हिसाबले कार्यक्रम बनाइँदै गरेको छ ।

२ किलोमिटरमा आकर्षक रेलिङ राखियो

चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले न्यूरोडदेखि वसन्तपुरसम्म आकर्षक रेलिङ निर्माण गरेको छ । साथै, फूटपाथ समेत निर्माण गरिएको छ । उक्त स्थानमा झण्डै २ किलोमिटरमा रेलिङ लगाउने र फूटपाथ निर्माण गरिएको विभागीय प्रमुख थापाले बताए ।

झण्डै ४ करोड रुपैयाँ लगानीमा महानगरपालिकाले रेलिङ निर्माण, फुटपाथ निर्माण, विद्युतीय तार हटाउने, नयाँ पोल राख्ने काम गरिरहेको हो । सो क्षेत्रमा पर्यटकीय गन्तव्य भएकाले विगतमा रहेको रेलिङ हटाएर काष्ठमण्डप र कुमारी भएको रेलिङ राखिएको हो । उक्त आकृतिले पछिल्लो समय न्यूरोडहुँदै असन जाने बाटो निकै सुन्दर देखिन थालेको छ ।

यस्तै, न्यूरोड क्षेत्रमा पोलमा जथाभावि झुन्डाइएको तार हटाउने काम भइरहेको छ । यस्तै मानगरपालिकाले न्यूरोड गेटदेखि धर्मपथ, शुक्रपथ, खिचापोखरी लगायत ठाउँमा रेलिङ राखेको थापाले बताए । महानगरका ३ वटा वडा छुने गरी नयाँ पोल पनि राख्ने तयारी गरिरहेका उनले जानकारी दिए ।

दर्जन ठाउँमा फूटपाथ निर्माण

काठमाडौंलाई व्यवस्थित सहर बनाउने अभियान चलाएको महानगरले चालु आर्थिक वर्षमा १ दर्जन बढी ठाउँमा आकर्षक फूटपाथ निर्माण गरेको छ । सडकको अव्यवस्थित पार्किङ हटाए सँगसँगै महानगरले फूटपाथलाई आकर्षक बनाएको हो । महानगरले फूटपाथ रंगिङ टायलले सजाएको छ ।

महानगरले हालसम्म पुतलीसडक, अनामनगर, तीनकुने, नयाँबानेश्वर, शंखमुल, पुरानो बानेश्वर, गौशला, छाउनी, ताचलमा फुटपाथ निर्माणको काम सम्पन्न गरेको छ।

त्यस्तै, त्रिपुरेश्वर, लैनचौर, कालिमाटी, कलंकी, माहाराजगञ्ज, बागबजार, सिनामंगल, लगायतका ठाउँमा फुटपाथ निर्माणका लागि ठेक्का लगाउने काम भइरहेको थापाले बताए ।

उनका अनुसार केही स्थानमा फुटपाथ निर्माणका लागि ठेक्का लगाउन मूल्यांकनका काम भइरहेको छ । उनले आगामी दशैँभित्र काठमाडौंका अधिकांश फुटपाथ निर्माण गरिने बताए ।

फागुन चैतमा ठेक्का लगाएर असार भित्र फुटपाथ निर्माण गर्ने लक्ष्य राखेको महानगरपालिकाले सार्वजनिक खरिद ऐनका कारण ढिलाइ भएको जनाएको छ ।

 

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

घोराही-तुलसीपुर ४ लेन सडक : भारतीय कम्पनीसँगको ठेक्का तोडियो, खाल्डा पुर्न नयाँ ठेक्का आह्वान Read Next

घोराही-तुलसीपुर ४ लेन सडक : भारतीय कम्पनीसँगको ठेक्का तोडियो, खाल्डा पुर्न नयाँ ठेक्का आह्वान