घोराही सिमेन्टको आइपीओ भर्ने आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियम मूल्यमा वैशाख १९ गतेदेखि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ थप गरी) दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण सेयर विक्रीमा ल्याएको छ ।

इच्छुक लगानीकर्ताले १० कित्तादेखि ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

स्थानीयका लागि म्याद थप

कम्पनीले वैशाख १९ देखि नै आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने म्याद भने थप गरेको छ ।

कम्पनीले स्थानीयका लागि आवेदन दिने म्याद जेठ १७ गतेसम्म थप गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय वासिन्दाका लागि प्रतिकित्ता ४०० रुपैयाँ (अंकित मूल्य १०० मा ३०० रुपैयाँ प्रिमियम थपेर) दरले ३ लाख ९७ हजार १९० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

सो सेयरमा दाङको घोराही उपमहानगरपालिका (वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९), बंगलाचुली गाउँपालिका (वडा नंं ३ र ४) र रोल्पाको त्रिवेणी गाउँपालिका (वडा नं. ३ र ४) का बासिन्दाहरुले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले घोराही सिमेन्ट इण्डष्ट्री, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक, नेपाल एसबीआइ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

बजेट लेखन अन्तिम चरणमा, अर्थ समितिले नै दिएन सुझाव Read Previous

बजेट लेखन अन्तिम चरणमा, अर्थ समितिले नै दिएन सुझाव

अनलाइनबाटै घरको नक्सा पास सुरू, कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य Read Next

अनलाइनबाटै घरको नक्सा पास सुरू, कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य