नीतिगत अस्थिरताले घरजग्गा कारोबार फेरि सुस्तायो, सरकारको आम्दानीमा धक्का

काठमाडौं । सरकारको नीतिगत अस्थिरताको असर घरजग्गा कारोबारमा देखिएकाे छ । सरकारले यथास्थितिमै कित्ताकाट खुलाउने निर्णय गरे पनि त्यो कार्यान्वयनमा नआउँदा कात्तिकदेखि उकालो लागेको घरजग्गा कारोबार वैशाखमा भने ओरालो लागेको हो ।

सरकारले २०७९ जेठदेखि भू-भूउपोग नियमावली लागू गर्दै कित्ताकाटमा कडाइ गरेको थियो । त्यसयता सुस्ताएको घरजग्गा कारोबार चालु आवको कात्तिकदेखि भने क्रमशः बढ्दै गएको थियो । वैशाखमा भने उकालो यात्रामा ब्रेक लागेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबार ६ हजार ६८९ वटाले घटेको छ । चैतमा ४९ हजार १५० घरजग्गा किनबेच भएकोमा वैशाखमा घटेर ४२ हजार ४६१ मा सीमित भएको छ ।

सरकारले घरजग्गा कारोबारमा गिरावट आउँदा समग्र अर्थतन्त्रमै समस्या आएको भन्दै वैशाख ५ गते यथास्थितिमै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को सो निर्णय हालसम्म कार्यान्वयनमा नआउँदा अझै कित्ताकाट सहज हुन नसककेको व्यवसायीहरु बताउँछन् ।

उक्त कित्ताकाट खुला गर्ने निर्णय मन्त्रीपपिरषद्, विषयगत समिति हुँदै पुनः भूमि व्यवस्था, सहकारी तथा गरिबी विारण मन्त्रालय फर्काइएको छ । सरकारको सोही नीतिगत अस्थिरताका कारण घरजग्गा व्यवसायीमा किनबेच गर्न अन्यौल देखिएको छ । जसको असर किनबेच र राजस्व संकलनमा परेको देखिन्छ ।

यस्तैै, बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदर वृद्धिका कारण पनि घरजग्गा कारोबार प्रभावित भएको छ । हाल बैंकिङ प्रणालीमा २ खर्ब बढी लगानी योग्य रकम रहे पनि घरजग्गामा ऋण लगानीमा गरिएको कडाइका कारण बैंकहरुले खासै चासो देखाएका छैनन् । यद्यपि, पछिल्लो समय केही बैंकहरुले होम लोनमा आकर्षक स्कीम ल्याउन थालेका छन् ।

यस्तै, टुक्रा जग्गाको अभावमा पनि घरजग्गा कारोबार सुस्ताएको व्यवसायी बताउँछन् । सरकारले स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जमिन कृषि र गैर कृषियोग्य भनेर नछुट्याइ कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । सरकारले मंसिरभित्रै सबै तहले जमिन वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि हालसम्म करिब २०० स्थानीय तहले मात्र जमिन वर्गीकरण सकी कित्ताकाट खुलाएका छन् ।

यी हुन धेरै किनबेच भएका ठाउँ

वैशाखमा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा बढी १ हजार ६५६ घरजग्गा किनबेच भएको छ । त्यस्तै, बेलबारी मोरङबाट १ हजार ६५४, जनकपुरधाम धनुषाबाट १ हजार ५२१, नेपालगञ्ज बाँकेबाट १ हजार ५०२ वटा, दमक झापाबाट १ हजार २०२ वटा र भद्रपुर झापाबाट १ हजार १३८ वटा घरजग्गा किनबेच भएको छ ।

विभागका अनुसार ललितपुर मालपोतबाट ८८१, गोटीखेलबाट १५, भक्तपुर ८६६, डिल्लीबजार १८१, चाबहिल ३९४, कलंकी ५८०, साँखुबाट ३८३, मनमैजुबाट २२९ र टोखा मालपोत कार्यालयबाट १५४ वटा घरजग्गा किनबेच भएको छ ।

कुन महिना कति किनबेच ?

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा सर्वाधिक कारोबार भएको घरजग्गा वैशाखमा घटेको छ ।
चैतमा यस वर्षकै धेरै घरजग्गा किनबेच (लिखत पारित) भएको थियो । चैतमा देशभर ४९ हजार १५० घरजग्गा किनबेच भएको थियो ।

त्यस्तै, फागुनमा ४० हजार ७३४, माघमा ४१ हजार ८६, पुसमा ३८ हजार ८७१, मंसिरमा २९ हजार १८४ घरजग्गा किनबेच भएको थियो ।

त्यसैगरी, चालु आवको असोजमा सबैभन्दा कम २५ हजार ७८९ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ । त्यस्तै, कात्तिकमा २७ हजार ९३९, साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० घरजग्गा किनबेच भएको थियो ।

पुसदेखि देशका मुख्य सहरी क्षेत्रमा कित्ताकाट खुलेसँगै बढ्न थालेको देखिन्छ । यसका साथै अर्थतन्त्रमा आयको संकुचन, महँगो ब्याजदर, घरजग्गा र्जामा गरिएको कडाइ यथावत लगायत कारणले पनि केही प्रभावित भएको । यद्यपि, पछिल्लो अवधिमा सुधार हुँदै गएको तथ्यांकले देखाउँछ ।

राजस्व पनि ओरालो

कारोबार र किनबेच घटेसँगै राजस्व पनि ओरालो लागेको छ । वैशाखमा ८२ करोड रुपैयाँ राजस्व घटेको हो । यो महिना ३ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ । घरजग्गा कारोबार वापत प्राप्त हुने राजस्व संकलन चैतमा वर्षकै सर्वाधिक भएको थियो ।

सरकारले चैतमा ४ अर्ब ५० करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत फागुनमा घरजग्गा किनबेच घटेसँगै पनि राजस्व संकलन पनि घटेको थियो ।

फागुनमा ३ अर्ब ५६ करोड, माघमा ३ अर्ब ७५ करोड, पुसमा ३ अर्ब ७१ करोड रुपैयाँ, मंसिरमा २ अर्ब ६५ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब, असोजमा २ अर्ब ५६ करोड, भदौमा ३ अर्ब ५६ करोड र साउनमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

माइखोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ? Read Previous

माइखोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ?

सरकार साढे २ खर्ब घाटामा, पूँजीगत खर्च ३३ प्रतिशत मात्रै Read Next

सरकार साढे २ खर्ब घाटामा, पूँजीगत खर्च ३३ प्रतिशत मात्रै