रेमिट्यान्सले धानेको अर्थतन्त्र : घट्दा संकट, बढ्दा टेवा

काठमाडौं । गत वर्ष अर्थतन्त्रको प्रमुख समस्या बनेको विनिमय संचितिको त्रास अहिले हटेको छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, पर्यटनमा देखिएको सुधार र व्यापार घाटामा आएको गिरावट जस्ता कारणले बाह्य क्षेत्रको दबाब तत्काललाई टरेको हो ।

कोभिडपछिको आयात वृद्धिले व्यापार घाटा उच्च हुँदा विदेशी मुद्र्राको ढुकुटी आवस्थामा पुगेको थियो । भुक्तानी सन्तुलनको सोही अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंक र सरकारले माग संकुचन गरेर अहिले सन्तुलनमा ल्याएका छन् ।

एक वर्षसम्म लगाएको आयात प्रतिबन्ध र एलसीमा गरिएको कडाइले विदेशी मुद्रा संचिति बढाएको छ । तर, आन्तरिक अर्थतन्त्र भने मन्दीतर्फ धकेलेको छ । सरकारको यो नीतिले मुलुक भित्रिएको रकम बाहिरिन पाएन भने अर्कोतिर रेमिट्यान्स आप्रवाहमा सकारात्मक संकेत देखिँदै गयो ।

अहिले रेमिट्यान्समा आएको सुधारले मुद्रा संचितिलाई सहज भएको छ । जब रेमिट्यान्स वृद्धि हुन्छ त्यो बेला डलर वृद्धि हुने र जब विप्रेषण ओरालो लाग्छ, त्यस अवधिमा डलर संचिति ओरालो लाग्ने प्रवृत्ति अर्थतन्त्रमा देखिएको छ ।

गत वर्ष विदेशी मुद्रा संचितिमा देखिएको समस्याले नेपालको अर्थतन्त्र पनि श्रीलंकाकै बाटोमा गएको हो कि भन्ने विश्लेषण गर्न थालिएको थियो । अहिले भने त्यो अवस्था नभएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

अझै मौद्रिक उपकरणहरू खुकुलो बनाउँदा बाह्य दबाब पुरानै अवस्थामा पुग्ने भएकाले जोखिम कायमै रहेको राष्ट्र बैंक र आईएमएफका अधिकारीहरूले बताउँछन् । अर्थविद् रघुवीर विष्ट अहिले विदेशी मुद्रा संचितिको ९५ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको बताउँछन् ।

‘कोभिडले हाम्रो पर्यटन क्षेत्रलाई ड्यामेज गरेपछिको यो असर हो । त्यसपछि रेमिट्यान्स र विदेशी मुद्रा संचितिको बीच सकारात्मक सम्बन्ध रहेको देखिन्छ,’ उनले भने, ‘त्यो भनेको हाम्रो बाह्य क्षेत्र पूर्ण रुपमा विप्रेषणमा निर्भर छ । किन भने धरासाय भएको पयर्टन पुनस्थिापित हुन सकेको छैन । अर्कोतर्फ निर्यात नगन्य मात्रामा छ ।’

विदेशी मुद्राको स्रोत रेमिट्यान्स दिगो नभएको र त्यसमा गडबड आउने बित्तिकै अर्थतन्त्रको समग्र्र चक्र नै संकटमा जाने उनले बताए । ‘रेमिट्यान्स आप्रवाहमा तलमाथि हुने बित्तिकै सामाजिक अर्थतन्त्र नै संकटमा जान्छ र अन्ततः त्यसले राजनीतिक अस्थिरतामा उत्प्रेरकको काम गर्छ,’ उनी भन्छन् ।

आन्तरिक उत्पादन बढाएर निर्यात गर्नु पर्ने र त्यसबाट मुद्रा आर्जन गरेर अर्थतन्त्र बलियो र आत्मनिर्भर बन्न सक्ने उनले बताए । नेपालको अर्थसंरचना नै आयातमुखी छ । उत्पादनभन्दा वस्तुको आयात मार्फत सरकारको सार्वजनिक वित्त चलिरहेको छ । जसको कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा नभएर आन्तरिक सञ्चार पनि रेमिट्यान्सले गरिरहेको विज्ञहरू बताउँछन् ।

रेमिट्यान्स बढ्दा संचिति बढ्छ, घट्दा घट्छ

चालु आर्थिक वर्षको चैतमा रेमिट्यान्स आप्रवाहले उच्च रेकर्ड बनाउँदा विदेशी मुद्रा संचिति डेढ वर्षयताकै धेरै पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैतमा १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिदाँ डलर संचिति १४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । ९ महिनाको आयातलाई आधार मान्दा प्रणालीमा रहेको उक्त मुद्रा संचितिले ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

गत असारमा १२ खर्ब १५ अर्ब रुपैयाँ रहेको कुल विदेशी मुद्रा संचिति त्यसपछि बढ्दै गएको छ भने चैत मसान्तसम्म आइपुग्दा २ खर्ब १८ अर्बले वृद्धि भएर १४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।राष्ट्र बैंकको ९ महिनाको आर्थिक प्रतिवेदन अनुसार चैतमा चालु वर्षकै १ खर्ब ९ अर्ब रेमिट्यान्स आप्रवाह भएको छ ।

रेमिट्यान्स गत वर्षको तुलनामा यस वर्ष २४.२ प्रतिशतले वृद्धि भएर ९ खर्ब ३ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

२०७८ को ९ महिनामा रेमिट्यान्स घट्दा १६.५ प्रतिशतले घटेर विनियम संचिति चैतमा ११ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको थियो । गत चैतदेखि चालु वर्षको चैतसम्म आउँदा विनिमय संचिति २ खर्ब ६६ अर्ब रुपैयाँले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।

विदेशी मुद्राको मुख्य स्रोत

वस्तु आयातका लागि विदेशी मुद्राको आवश्यकता पर्छ । डलर संचिति नहुँदा अत्यावश्यक वस्तुको समेत आयात गर्न सक्ने अवस्थामा मुलुक रहँदैन । जसको कारण संकट गहिरिएर जाने अर्थतन्त्रका जानकारहरू बताउँछन् ।

अर्थशास्त्री विष्ट पाकिस्तान र श्रीलंका मुद्रा संचितिकै अभावमा आर्थिक संकटमा फसेको बताउँछन् । ‘विदेशी मुद्राको स्रोत भनेको वैदेशिक लगानी, अनुदान र ऋण पनि हो । तर, हाम्रो अर्थतन्त्रमा न अनुदान बढेको छ न विदेशी लगानी नै भित्रिएको छ । कोभिडका कारणले पर्यटकको अवस्था पनि नाजुक बन्यो,’ उनी भन्छन्, ‘त्यसको असर विदेशी मुद्रामा परेको हो, र अर्थतन्त्र रेमिट्यान्समुखी मात्र बन्यो । पाकिस्तान र श्रीलंका पनि यही समस्याको कारण गहिरो आर्थिक संकटमा फसेका हुन ।’

राष्ट्र्र बैंकले अर्थतन्त्रको सोही चक्रलाई स्थायित्व दिनका लागि भुक्तानी सन्तुलन र बाह्य दबाब कम गर्न कसिलो मौद्रिक उपकरणहरू प्रयोग गर्ने गरेको छ । नेपाली अर्थतन्त्रको विदेशी मुद्रा संचितिको मुख्य स्रोत भनेकै रेमिट्यान्स हो । विदेशी पर्यटक, अनुदान, ऋण, वैदेशिक लगानी, वस्तु निर्यात र रेमिट्यान्सबाट नेपालले डलर संचिति गर्दै आएको छ ।

वैदेशिक मुद्रा आर्जनका यी स्रोतहरू मध्ये व्यापार निकै कमजोर छ । आयातको तुलनामा नगन्य निर्यात गर्दा व्यापार घाटाको श्रृंखला ठूलो छ । जसबाट मुद्र्रा भित्र्याउने भन्दा बढी बाहिरिने गरेको छ ।

पर्यटकहरूको आवागमन पनि त्यत्ति सन्तोषजनक देखिदैन । तेस्रो मुलुकका पर्यटकहरूको नेपाल भित्रिने संख्या न्यून छ । वैदेशिक लगानी, अनुदान पनि प्रतिवद्धता र लक्ष्य अनुसार आएको छैन । वार्षिक १७/१८ खर्बको व्यापार घाटा हुँदा त्यसको झण्डै ५० प्रतिशत हिस्सा नै रेमिट्यान्सले धानेको छ । सोही कारण अर्थतन्त्र पनि चलायमान बनेको तथ्यांकहरूले देखाउँछ ।

 

५० करोडमा खुलेको आरजु राइस मिलको दुई ब्रान्डका चामल बजारमा Read Previous

५० करोडमा खुलेको आरजु राइस मिलको दुई ब्रान्डका चामल बजारमा

चन्द्रागिरि हिल्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ? Read Next

चन्द्रागिरि हिल्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?