काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सडक पार्किङ निषेधित क्षेत्र बनाएको छ । महानरपालिकाका मेयर बालेन्द्र शाहको १ वर्षको प्रयासपछि अहिले महानगरका सबै सडक पार्किङ निषेधित क्षेत्र बनेका हुन् ।
गत वैशाखमा महानगरको नेतृत्व सम्हाले लगत्तै मेयर शाहले सडकमा जथाभावी पार्किङ हटाउने र बेसमेन्ट पार्किङ व्यवस्थित बनाउने कार्यको थालनी गरेका थिए । सोही अनुसार महानगरले यसअघि सडकमा हुँदै आएको पार्किङ समेत हटाएको हो । महानगरले विभिन्न ठाउँको पार्किङ हटाउन र बेसमेन्ट खाली गराउन ठूलो संघर्ष समेत गर्नुपरेको थियो ।
महानगर प्रहरी पमुख राजुनाथ पाण्डेले अव्यवस्थित पार्किङ निषेध गर्दै महानगरभित्र पर्ने सार्वजनिक सवारी साधन गुड्ने कुनै पनि सडकमा पार्किङ निषेध गरिएको बताए । उनले काठमाडौंमा यसअघि पार्किङ गर्न दिइएका सबै सडकमा अहिले पार्किङ निषेध गरिएको बताए ।
हालसम्म महानगरपालिकाले २ दर्जन बढी स्थानको सडकबाट पार्किङ हटाइसकेको छ । प्रहरी प्रमुख पाण्डेका अनुसार बागबजार, प्रदर्शनीमार्ग, शंखरदेव, दरवारमार्ग, नारायणचोक, बानेश्वर, बत्तीसपुतली, माछापोखरी, चाबहिल, सोल्टीमोड, कलंकी, कालीमाटी र कुलेश्वरमा सडक तथा फुटपाथमा हुने पार्किङ हटाइसकिएको छ ।
‘हामीले महानगरभित्र अधिकांश स्थानबाट पार्किङ हटाइसकेका छौँ, अब सडक र सडक पेटीमा पार्किङ गर्न पाइँदैन,’ पाण्डेले चाणक्य पोष्टसँग भने ‘ हामीले पार्किङको लागि भनेर बनेको बेसमेन्टहरूमा फेरि पार्किङको व्यवस्था मिलाएका छौँ, अब सबैले पार्किङ गर्न बनाइएको स्थानमा मात्र पार्किङ गर्नुपर्छ । सडकमा गरेको पाइए कारबाही हुन्छ ।’
सवारी पार्किङ व्यवस्थापनका लागि भूमिगत पार्किङ स्थानमा पार्किङ गर्न महानगरपालिकाले निर्देशन दिएको उनले बताए । उनका अनुसार हरेक भवनमा भएका अन्डरग्राउण्डमा पार्किङ अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाइएको छ । उनले महानगर क्षेत्रभित्र अधिकांश स्थानका भवनमा भूमिगत पार्किङ रहेको बताए । नयाँ भवन निर्माण गर्ने हरेकमा भूमिगत पार्किङको व्यवस्था अनिवार्य गरिएको उनले जानकारी दिए ।
विगतमा महानगरसँग भूमिगत पार्किङको लागि स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका स्थानलाई समेत पार्किङ स्थानमा परिणत गरिएको उनले बताए । अहिले काठमाडौंका अधिकांश व्यापारिक कम्प्लेक्स, बैंक, अस्पताल, सरकारी कार्यालय लगायत सबै ठाउँमा पार्किङको व्यवस्था भएको उनले जानकारी दिए ।
काठमाडौं भ्यूटावमार पार्किङ सुरू
पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यूटावरको बेसमेन्टमा पार्किङ सुरू गरिएको छ । हाल निर्माणधीन अवस्थामै रहेको उक्त भवनको अण्डरग्राउण्डमा पार्किङ खुला गरिएको पाण्डले जानकारी दिए ।
भवन निर्माणको काम जारी रहे पनि बेसमेन्टमा हालका लागि निजी सवारीका लागि पार्किङ खुला गरिएको हो । भ्यूटावरको अण्डरग्राउण्डमा पछि बसपार्क सार्ने योजना समेत रहेको छ ।
उक्त भवन पूर्ण क्षमतामा संचालनमा आउँदा उक्त पार्किङमा ४०० गाडी र ७०० हाराहारीमा मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिन्छ ।