काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । लगातार ५५ अंकले घटेर मंगलबार १० अंकले बढेको नेप्से आज फेरि २ अंकले घटेको हो ।
आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १९ करोडले घटेर ५८ करोड रुपैयाँमा सीमित भएको छ । यो पछिल्लो ८ महिना यताकै कम कारोबार हो ।
बुधबार २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ को बढेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६० प्रतिशतले बढेको छ ।
आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक साढे ३ करोड र शिवम् सिमेन्ट ३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेकाे बजारमा आज हिमाल दोलखा हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ८.२४ प्रतिशत कमाएका छन् भने एनसीसी बैंकका डिबेन्चरधनीले ७.२४ प्रतिशत गुमाएका छन् ।