काठमाडौं । अरुण काबेली पावर लिमिटेडको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३५.३५ प्रतिशतले घटेको छ ।
कम्पनीले चालु आवको चैत मसान्तसम्म १४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ करोड ८५ लाख रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
अन्य आम्दानी बढे पनि विद्युत बिक्री आम्दानी घट्दा र खर्च बढ्दा कम्पनीको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.६४ प्रतिशतले घटेर ५६ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १३७.७८ प्रतिशत बढेर ७४ लाख रुपैयाँ पुगेको छ । चैतसम्म कम्पनीको खर्च १८.४९ प्रतिशतले बढेर ३९ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
हाल १ अर्ब ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।
खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५.९६ रुपैयाँबाट घटेर १०.३२ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११९.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.१४ गुणा छ।