मौरी पालेर वार्षिक ३५ लाख आम्दानी

पर्वत । घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैँचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।

परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाएका छन् । दुई दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाख रुपैयाँसम्म कमाएको बताउँछन् । उनको घरमा अहिले सय मौरीका घार छन् । मौसममा यसको सङ्ख्या थपिन्छ ।

एपि सेरेना जातको मौरी पालेका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताए। सुरुमा चिसोले ५० प्रतिशत घाटा ब्योहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने  गरेको बताए । उनले वर्षमा दुई पटक मह निकाल्नहुन्छ । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थाल्नुभएका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । तिमिल्सिना भन्छन्,   ‘ मह घरबाटै बिक्री हुन्छ । गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।’ उनले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्छन् ।

उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताए । उनी भन्छन्, ‘कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटबललगायतका क्षेत्रवाट व्यवसायी घरमै आएर लैजान्छन् ।’

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिए । उनले वर्षमा तीन सय घारसम्म बिक्री गर्छन् । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री हुन्छ । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ । उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए।

तिमिल्सिनाले सोही स्थानमा तीन सय सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा पनि बनाए । तर सुन्तला मर्दै गए । सुन्तलामा भविष्य नदेखेपछि उहाँ माहुरीपालनतर्फ आकर्षित भएका हुन् । तरकारी खेती, पशुपन्छी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताउँछन्र ।

उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।रासस

२ अर्ब ८२ करोडको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक Read Previous

२ अर्ब ८२ करोडको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

भारतसँग जोडिँदै दोधारा चाँदनी सुक्खा बन्दरगाह, भारतले खोल्यो पहुँचमार्गकाे ट्रयाक Read Next

भारतसँग जोडिँदै दोधारा चाँदनी सुक्खा बन्दरगाह, भारतले खोल्यो पहुँचमार्गकाे ट्रयाक