नक्सा पास नगरी बनेका ७ हजार घरको नक्सा अद्यावधिक गर्न महानगरमा निवेदन

काठमाडौं । काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका ७ हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् ।

प्राप्त निवेदनमध्ये १ हजार ७३५ जनाको नक्सा पास भएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्नेलगायत प्रक्रिया चलिरहेका छन् । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न ९० दिनको अवधि दिएर कामपाले २०७९ भदौ २३ गते सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो । उक्त सूचनालाई नै आधार मानेर नक्सा अद्यावधिक गर्न निवेदन परेको हो ।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार गएको साउनदेखि सहरी विकास विभागले ९६२ वटा डीपीसी स्वीकृत गरेको छ भने १ हजार ७३५ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गरेको छ । यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएका छन् ।

डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम (ईबीपीएस) महानगरले नक्सा स्वीकृतिका लागि प्रयोग गरेको अनलाइन प्रणाली हो । यो प्रणालीलाई राजस्व र बैंकसँग लिङ्क गरिएको छ । भवन संरचनासँग सम्बन्धित उजुरी पनि यही प्रणालीमा आबद्ध गरिएको छ ।

जनताका पीर मर्कासँग सम्बन्धित कानुनी कागजपत्र प्रणालीमा अपलोड गरेपछि कानुन विभागले प्रणालीबाटै कारबाही प्रक्रिया अगाडि बढाउँछ । प्रणालीमा नागरिकले आफ्नो फाइल कसको डेक्समा पुगेको छ । त्यो डेक्समा पुगेको कति समय भयो भनेर ट्र्याकिङ गर्न सक्नेछन् ।

कामपाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ भवनको नक्सा स्वीकृत गरेको छ । विसं २०८० वैशाख १ गतेदेखि पाँच हजार स्क्वायर फिटसम्मका नक्सा स्वीकृत गर्ने अधिकार वडाहरुलाई प्रदान गरिएको छ ।

सिटिजन्स बैंक र हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ बीच समझदारी Read Previous

सिटिजन्स बैंक र हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ बीच समझदारी

बागमती करिडोरका आधा दर्जन सडक मर्मत हुँदै Read Next

बागमती करिडोरका आधा दर्जन सडक मर्मत हुँदै