काठमाडौं । काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा खोकना–बुङमति विवाद अझै कायमै रहेको छ । द्रुतमार्गका लागि ५ हजार १७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ४ हजार ७८० रोपनीको मुआब्जा विवतरण भइसकेको छ ।
आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको ३९२ रोपनीको भने स्थानीयसँगको विवादका कारण मुआब्जा वितरण हुन सकेको छैन ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७६ भदौमा स्वीकृत भएसँगै निर्माण सुरु भएको दुर्तमार्गको लम्बाइ ७२.५२९ किलो मिटर रहेको छ । उक्त आयोजनाको महादेवटारको सुरुङ ३.३५५ किलोमिटर, धेद्रेको १.६३० किलोमिटर र लेनडाँडाको १.४३० किलोमिटर सुरुङ खन्ने काम भइरहेको छ । यसरी सबै गरेर कुल ४.१०१ किलोमिटर सुरुङ निर्माणको काम भइरहेको हो ।
यसमध्ये प्याकेज १ मा महादेवटार सुरुङ निर्माणमा दाँयामा २०३ मिटर र बाँया २३५ मिटर सुरुङ खन्ने काम भएको छ । प्याकेज २ मा धेद्रे र लेनडाँडाको सुरुङ निर्माण भइरहेको छ । यसमा धेद्रे तर्फ र लेनडाँडा तर्फ समेत सुरुङ खन्ने कामले गति लिइरहेको उनले बताए ।
आयोजनामा करिब १० किमी लम्बाइ बराबरका लामो र छोटा गरी ८७ पुल रहने छ । करिब १ खर्ब ७५ अर्ब १९ करोड ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त सडक २०८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । सेनाले २०८१ मंसिर मसान्त भित्र निर्माण पुरा गर्ने गरी काम गरिरहेको सेनाका प्रवक्ता नारायण सिल्वालले बताए ।
उनका अनुसार पुलहरु सकिने बितिकै निर्माणको भौतिक प्रगति देखिने छ । आयोजनामा स्पेसल ब्रिज १६ वटा, मेजर र मिडियम ब्रिज ४९ वटा र माइनर ब्रिज २२ वटा गरेर कुल ८७ वटा पुल रहेको छ । उनले सो मध्ये ४५ वटा पुलहरुको ठेक्का प्रकृया पुरा गरेर निर्माण प्रकृया सुरु गरिसकेको बताए । ४२ वटा पुल विभिन्न प्याकेजमा समाबेस गरेर ठेक्का हुने प्रकृयामा रहेको उनले बताए ।
‘हामीले ४५ पुल निर्माण गर्न ठेक्का लगाएर काम सुरु गरिसकेका छौँ, बाँकी ठेक्का प्रकृयाको चरणमा छ, यो निर्माण हुना साथ प्रगति बढ्ने छ,’ सिलवालले चाणक्य पोष्टसँग भने ।
आयोजनाका लागि चालु आर्थिक वर्षमा २९ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । आयोजनाको हालसम्म कुल भौतिक प्रगति करिब २१.६४ प्रतिशत र वित्तीय प्रगति २२ प्रतिशत छ । आयोजनाको कुल लागत १ खर्ब ७५ अर्ब १९ करोड ३६ लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजनाका लागि गत आवसम्म ३७ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ ।
सेनाले आयोजनालाई तीव्रता दिने सिलसिलामा ११ प्याकेजमा विभाजन गरी खरिद व्यवस्थापन तथा निर्माणको कार्य गरिरहेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको उक्त द्रुतमार्ग आयोजना २०८१ सालको मंसिर मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, ताेकिएकाे समयमै निर्माण सम्पन्न भने हुने देखिदैन । समयमै निर्माण सम्पन्न नहुने भएपछि सरकारले पटकपटक म्याद थपेकाे छ ।
ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको लम्बाइ ७२.५ किलोमिटर छ ।
महादेवडाँडा, धेद्रे र लेनडाँडामा करिब ६.४१ किमी दोहोरो सुरुङसहितको द्रुतमार्गमा साना र ठूला गरी ८७ पुल रहने छन् । ती पुलको लम्बाइ १०.५९ किमी हुनेछ । पुल र सुरुङबाहेक सडकखण्ड ५५.५ किमी रहनेछ । द्रुतमार्ग सडक ललितपुरमा ७.९ किमी, काठमा डौंमा ४, मकवानपुरमा ५३ र बारामा ७.६ किमी पर्छ ।
देशको राजधानीलाई पूर्वी भू–भाग र तराईसँग जोड्ने वैकल्पिक राजमार्ग बनाउने सोचअनुरुप निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाका लागि २०४९ सालमा डेनिस सहयोग नियोगबाट सम्भाव्यता अध्ययन गरिएको थयो ।
सरकारले आर्थिक वर्ष २०६६/६७ को बजेटमा द्रुतमार्गको पहुँचमार्ग खोल्ने निर्णयअनुसार यो आयोजना सुरु गरेको थियो ।
काठमाडौंलाई तराई मधेस हुँदै छिमेकी मुलुक भारतसँग जोड्ने छोटो, फराकिलो र सुविधा सम्पन्न द्रुतमार्ग निर्माणपछि काठमाडौंबाट निजगढसम्मको यात्राअवधि ५ घण्टाबाट घटेर एक घण्टामा सीमित रहने मात्र नभई इन्धन र समयसमेत बचत हुनेछ ।