काठमाडौं । दैनिक भान्सामा प्रयोग हुने चामलको आयात वर्षेनी बढ्दो छ । चालु आर्थिक वर्षको ९ महिनामा २९ अर्ब १९ करोड १८ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भएको छ। सो मूल्यमा ६३ करोड ६२ लाख केजी चामल तथा धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
नेपालकाे धान मुख्य खेती हाे । विशेष चैते धान र वर्षे धान प्रचलनमा रहेको छ । चैते धान अन्तर्गत ६ जातका बीउहरु रहेका छन् भने वर्षे धान तर्फ ९८ वटा जातका धानका बीउहरु रहेको जनाइएको छ ।
सरकारले हरेक वर्ष धानको उत्पादन बढ्दै गएको जनाए पनि धान लगाउने क्षेत्रफल र उत्पादन घट्दै गइरहेको छ । गत आर्थिक वर्षमा झन्डै ५ लाख टनले धानको उत्पादन घटेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य छ । देशभरको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको सरकारी आँकडा छ । आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा हुन नसक्ने किसानहरु बताउँछन् ।
नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले १५ जिल्लामा धान उत्पादन बृृहत् कार्यक्रम सञ्चालन गर्दै आएको छ भने झापा जिल्लालाई धानको ‘सुपर जोन’ घोषणा गरेको छ ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संन्जेलका अनुसार पछिल्लो समय सरकारले साना मसिना चामलको उत्पादन गर्न नार्कसँग छलफल गरिरहेको छ । उपभोक्तामा आयातीत मसिनो चामल बढी माग भएकाले सो जातिका धान उत्पादन गर्न नार्कसँग सहकार्य गरी अनुसन्धान अघी बढाउने तयारी भएको उनले बताए ।
‘अहिले उपभोक्ताहरु नेपाली चामलभन्दा आयात भएको मसिनो चामल धेरै मन पराउन थालेका छन् त्यसैले आयात बढेको हो, अब हामी पनि त्यस्तै चामल कसरी उत्पादन गर्न सकिन्छ नार्कसँग मिलेर अनुसन्धान तर्फ लागेका छौँ,’ सन्जेलले चाणक्यपोष्टसँग भने ।
धानको उत्पादन बढाउन कृषि बीमालाई समेत प्रोत्साहन गर्दै लैजाने मन्त्रालयको योजना रहेको छ । तर, त्यसाे भए पनि नेपालमा वर्षेनी धान तथा चमल आयात बढ्दो क्रममा रहेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बराबरको १ अर्ब १३ करोड केजी धान तथा चामल आयात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा ५० अर्ब ७८ करोड रुपैयाँ बराबरको १ अर्ब ३३ करोड केजी चामल तथा धान आयात भएको थियो ।