ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीलाई आशय पत्र, कुन–कुनले पाए ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) को लाइसेन्सको आशय पत्र (एलओआई) दिएको छ । सोमबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैंठकले आवेदन दिएका ४५ मध्ये १६ कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र दिने निर्णय गरेको हो ।

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार आवेदन दिएका मध्ये मूल्यांकन सकिएका र प्रक्रिया पुरा गरेका १६ कम्पनीले एलओआई पाएका छन् । ब्रोकरको लाइसेन्सका लागि कम्पनीको मूल्यांकन कार्य भइरहेको उनले बताए । अब एलओआई पाएका उक्त कम्पनीहरुले बोर्डले जारी गरेको मापदण्ड पुरा गरेर आवेदन दिएपछि लाइसेन्स पाउनेछन् ।

बोर्डले गत २ असोजमा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्था सहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

बोर्डले माग गरेको ३० दिनको अवधिमा ४५ कम्पनीले आवेदन दिएका थिए । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड, पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको छ ।

कुन–कुनले पाए आशय पत्र ?

बोर्डका अनुसार दुई वटा कम्पनीले धितोपत्र व्यापारी र पूर्ण कार्य गर्ने ब्रोकरको लाइसेन्सका लागि आशय पाएका छन् भने १४ कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलालको लागि एलओआई पाएका छन् ।

नबिल सेक्युरिटिज लिमिटेडले धितोपत्र व्यापारीको लाइसेन्सको लागि आशय पत्र प्राप्त गरेको भने मेगाल स्टक मार्केट लिमिटेडले पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आशय पत्र पाएको छ ।

हिमालयन ब्रोकरेज कम्पनी, सीवीआई एल सेक्युरिटीज, के.वी. एल सेक्युरिटीज, आरबीबी, सानिमा, इन्डेक्स, सन सेक्युरिटीज, क्यापिटल म्याक्स, भोले गणेश, इन्फिनिटी, आकाश भैरव, एलिट स्टक हाउस र एसपीएसए सेक्यूरिटीज कम्पनीले सिमित कार्यका लागि धितोपत्र दलाल लाइसेन्सका लागि आशय पत्र पाएका छन् ।

तातोपानी नाका दुईतर्फी सञ्चालनमा Read Previous

तातोपानी नाका दुईतर्फी सञ्चालनमा

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही Read Next

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही