चितवनमा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु

काठमाडौं । चितवनमा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु भएको छ । हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षमा उडान सुरु गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गरेका हुन ।

प्याराग्लाइडिङको उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताए । उनले भने, ‘चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।’ प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्वपूर्ण खेल भएको उनले बताए । उनले भने, ‘यो खेल सुरक्षित र साहसी खेल हो ।’

आफू पनि मौका मिलाएर यहाँ आएर खेल्ने उनले बताए । साहसी खेलमध्ये सुरक्षित मानिएको प्याराग्लाइडिङ भएको उनको भनाइ थियो । युवा उद्यमीको पहलमा भएको यस कार्यले खुसी लागेको उनले बताए । नेपालले अन्तराष्ट्रियस्तरमा पर्यटनको क्षेत्रले नयाँ उत्पादन दिन सक्ने गरी यो खेल आएको उनले उल्लेख गरे।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटनको क्षेत्रमा यो खेलले महत्वपूर्ण योगदान पुग्ने धारणा राखे। प्याराग्लाइडिङका लागि तोकेको मापदण्ड पूरा गरी सुरक्षित रुपमा खेलाइनुपर्ने उनको भनाइ थियो ।

पर्यटकीय दृष्टिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको वैशाख १ गते देखि व्यावसायिक उडान सुरु गरिएको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।

जङ्गल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यका रुपमा बसाइँ लम्ब्याउन सकिने गरी प्याराग्लाइडिङ सुरु गरिएको उनले बताए । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।

यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए। हाल १० प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने छ । सन् २०१५ मा विदेशीले यहाँ उडान भरेको पाइन्छ । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको घलेको भनाइ छ ।

पोखरामा तालमाथि उड्ने, हिमाल देखिने लगायतका कारण छुट्टै रमाइलो रहेको जनाउँदै उनले यहाँको नागबेली परेको सडक र त्रिशूली नदी माथिको उडान अझै महत्वपूर्ण रहेको बताए । विगत सात वर्षदेखि अनुभव सगाँलेका चालकबाट उडान गरिने प्याराग्लाइडिङबाट डाँडाकाँडादेखि खोलानालाको सुन्दर दृश्य हेर्न सकिने भएकाले यहाँ उडानका लागि राम्रो मानिएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ ।

८ वर्षमा पनि बनेन् जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक Read Previous

८ वर्षमा पनि बनेन् जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

पूर्वका उद्योगमा विद्युत् कटौती Read Next

पूर्वका उद्योगमा विद्युत् कटौती