काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गतको हुलाकी लोकमार्गमा पुल निर्माणका लागि नयाँ ठेक्का नलाग्ने भएको छ । अर्थमन्त्रालयले स्रोत सुनिश्चिता र वहुवर्षे कार्यक्रम नरहेका योजनामा नयाँ ठेक्का नलगाउन निर्देशन दिएको हो ।
हुलाकी लोकमार्ग आयोजनाका सिनियर डिभिजन इन्जिनीयर निरज ठाकुरले चालु आर्थिक वर्षमा ३५ वटा पुलको ठेक्का लगाउने योजना भए पनि अर्थमन्त्रालयको निर्देशनपछि ठेक्काको काम रोकिएको बताए ।
‘यो वर्ष १६ वटा हाराहारीमा पुल निर्माण गरिसक्ने लक्ष्य रहेको छ, ३५ वटा पुलको ठेक्का यही वर्ष लगाउने र आगामी वर्षमा सक्ने लक्ष्य थियो तर, अर्थमन्त्रालयले श्रोत सुनिश्चित नभएसम्म कुनै ठेक्का नलगाउन निर्देशन दिएको छ,’ ठाकुरले चाणक्य पोष्टसँग भने, ‘अर्थको निर्देशनसँगै अब नयाँ व्यवस्था नभएसम्म ठेक्का प्रक्रिया रोकिन्छ ।’
उनले चालु आर्थिक वर्षमा १६ वटा पुलको निर्माण पूरा गर्ने लक्ष्य रहेको छ । हालसम्म यस आयोजनामा ८ वटा पुल निर्माणको काम सकिसकेको छ ।
झण्डै ७७ वटा पुल निर्माण हुन बाँकी रहेकोमा १३ वटाको डीपीआर स्वीकृत भइसकेको उनले बताए । उनका अनुसार ३० वटा पुल डिजाइन एण्ड बिल्डमा निर्माण गर्ने गरी अध्ययन भइरहेको छ ।
डिजाइन तयार भएका अधिकांश पुल पूर्वी र मध्य क्षेत्रका छन् । इटहरी, धनुषा, वीरगञ्ज, कपिलवस्तु, दाङ, बाँके, बर्दीबास, जनकपुर लगायतका जिल्लाहरूका पुलको डिजाइन स्वीकृत भएको हो ।
४६ पुलको हाइड्रोलोजी स्टडी हुँदै
यस्तै, आयोजना अन्तर्गत ४६ वटा पुलको हाइड्रोलोजी स्टडी भइरहेको उनले जानकारी दिए । निर्माण गर्ने स्थानमा भएको सतह, पानीको वाहव र लम्बाइको अध्ययनका लागि हाइड्रोलोजी स्टडी गरिने उनले बताए ।हाइड्रोलोजी स्टडी पनि उक्त पुलहरूको डिजाइन बनाइने छ । डिजाइन स्वीकृत भएपछि सो पुलहरूको निर्माणको लागि ठेक्का आह्वान गरिने छ ।
आयोजनाका प्रमुख धर्मेन्द्रकुमार झाले आयोजनाको कुल २५० पुल मध्ये हालसम्म १२४ वटा पुलको निर्माण पूरा भइसकेको जानकारी दिए । चालु आर्थिक वर्षको चैत्र आयोजनामा २५ प्रतिशत भौतिक प्रगति भएको छ ।
२०६६ मा सुरू गरिएको यो आयोजनामा हालसम्म ८६.९० प्रतिशत भौतिक प्रगति भइसकेको उनले जानकारी दिए । हालसम्म आयोजना भित्र ९५४.२१ किलोमिटर सडक निर्माणको काम सम्पन्न भएको छ । वार्षिक २५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको यस आयोजनामा चालु आवमा मात्र ६२.५ किलोमिटर सडक कालोपत्रे भएको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषको ऋण परिचालन गरी सुरु भएको यो आयोजनामा चालु आवमा मात्र ६२.३२ प्रतिशत बजेट खर्च भएको छ । सो रकम ३ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ हो । आयोजना सुरु भएदेखि हालसम्म ५७ अर्ब करोड रुपैयाँ खर्च भइसकेको छ ।
उनले उक्त आयोजना पूरा हुन अझै २ वर्ष लाग्ने बताए ।
‘आयोजना पूरा हुन २ वर्ष अझै लाग्छ, ठेक्का नलागेका योजनाहरू सबै यही वर्ष ठेक्का लगाउने छौँ,’ झाले चाणक्य पोष्टसँग भने । उनका अनुसार २०८२/८३ भित्र हुलाकी राजमार्गको निर्माण पूरा हुने छ ।
भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै २ वर्ष म्याद थप गर्नु पर्ने बताए । ‘हामीले उनीहरूले काम समयमा नसकेकाले धेरै म्याद थप नगरेका हौँ, एकै पटक २/३ वर्षका लागि म्याद थप दियो भने काम गर्दैनन् । त्यसैले थोरै थोरै म्याद थप गरेका हौँ,’ शर्माले चाणक्य पोष्टसँग भने ।
तराई-मधेसका २३ जिल्ला जोड्ने हुलाकी राजमार्ग विस्तारको काम यही आवभित्र सक्नुपर्ने छ । तर अहिलेसम्म यो लोकमार्गको काम ८६ प्रतिशत मात्रै भएको छ ।