काठमाडौं । घरजग्गा कारोबारमा सुधार आउन थालेसँगै जग्गाको कित्ताकाट पनि बढ्न थालेको छ । गत जेठदेखि ओरालो लागेको घरजग्गा कारोबार चालु आवको पुसदेखि क्रमशः सुधार आइरहेको छ । सोसँगै जग्गाको कित्ताकाट पनि ह्वात्तै बढेको छ ।
सरकारको अंकुशका कारण गत असारदेखि सुस्ताएको कित्ताकाट पछिल्ला २/३ महिना यता ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चैतमा ३७ हजार ९९७ कित्ता जमिन टुक्र्याएर ८५ हजार ९७ टुक्रा बनाइएको छ । यो २०७९ असार यताकै धेरै हो ।
चैतमा घरजग्गा कारोबार पनि यस वर्षकै धेरै भएको छ । चैतमा १० महिना यताकै धेरै ४९ हजार १५० वटा घरजग्गा किनबेच भएको छ ।
हाल अर्थतन्तको मन्दी कायमै रहे पनि बैंकिङ प्रणालीमा तरलता सहज हुँदा र घट्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा क्रमशः सुधार आउन थालेको हो । घरजग्गाको किनबेच बढेसँगै कित्ताकाट पनि बढेको हो ।
सरकारले २०७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसंगै कित्ताकाट सुस्ताएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत मंसिर २३ सम्म सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन अनुसार पछिल्लो समय स्थानीय तहहरूले जमिन वर्गीकरण गरी गैरकृषि क्षेत्रको कित्ताकाट खुला गरेसँगै कित्तकाट बढ्न थालेको हो ।
मंसिरभित्रै सबै तहले जमिन वर्गीकरण गर्नुपर्ने भए पनि हालसम्म करिब करिब २० प्रतिशत स्थानीय तहले मात्र कृषि र गैरकृषि क्षेत्र छुट्याएका छन् । विभागका अनुसार हालसम्म करिब १६० स्थानीय तहले जमिन वर्गीकरण सकेका छन् । अधिकांश सहरी क्षेत्रका पालिकाकाले वर्गीकरण सकाइ कित्ताकाट खुला गरेकाले जमिन खण्डीकरण पनि बढेको हो ।
आगामी दिनमा जमिन वर्गीकरण गरी कित्ताकाट खुलाउने स्थानीय तहहरूको संख्या पनि बढ्दै जाने भएकाले कित्ताकाट झनै बढ्ने देखिन्छ । यस्तै, घरजग्गामा आएको गिरावटकका कारण अर्थतन्त्रमै मन्दी आएको भन्दै सरकराले यथास्थितिमा कित्ताकाट खुलाउने तयारी गरेको छ ।
जग्गा वर्गीकरण गरेका अधिकांश पालिकाले खेतीयोग्य जमिनलाई समेत गैरकृषि योग्य घोषणा गरेका छन् । यसले खेतीयोग्य जमिनको खण्डीकरण फेरि बढाउने देखिन्छ ।
कुन महिना कति कित्ताकाट ?
चालु वर्षको ९ महिना (चैतसम्म) कुल १ लाख ६४ हजार २७५ कित्ता जमिनलाई टुक्र्याएर ३ लाख ५८ हजार ४९३ टुक्रा पारिएको विभागको तथ्यांक छ । यद्यपि, यो गत वर्षको सोही अवधिको तुलनामा ७४ प्रतिशत कम हो । गत वर्षको फागुनसम्म ५ लाख ४१ कित्ता जमिन टुक्र्याएर १३ लाख ४३ टुक्रा पारिएको थियो ।
चालु वर्षको चैतमा सबैभन्दा धेरै ३८ हजार कित्ता जमिनलाई खण्डीकरण गरी ८० हजार टुक्रा बनाइएको छ । त्यसैगरी, फागुनमा २७ हजार ३१ कित्ता जमिन टुक्र्याएर ६० हजार ३६१ टुक्रा, माघमा २४ हजार ५६९ कित्तालाई ५४ हजार ७७८ टुक्रा, पुसमा २१ हजार ७८४ जग्गालाई टुक्रयाएर ४९ हजार १०४ टुक्रा पारिएको छ ।
त्यस्तै, मंसिरमा १३ हजार २२१ वटा जग्गालाई कित्ताकाट गरी ३० हजार ८२७ टुक्रा, साउनमा ८ हजार ७८५ जग्गालाई कित्ताकाट गरी १५ हजार ३०५ टुक्रा, भदौमा १० हजार ९२२ कित्ताकाट गरी २१ हजार ८७७ टुक्रा, असोजमा ९ हजार ४२६ जमिनलाई १९ हजार १७८ टुक्रा र कात्तिकमा १० हजार ५४४ जमिनलाई २२ हजार ३६५ टुक्रा पारिएको विभागको तथ्यांक छ ।