बजेट अभावमा थानकोट-चित्लाङ सडक स्तरोन्नति हुन सकेन

काठमाडौं । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन ।

काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन ।

बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौँस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । काठमाडौँबाट जाने सडक ट्रयाक खुलेर कटिङमात्र गरिएको छ ।

‘ठाउँ–ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन,’ कार्यालयका इञ्जिनियर नेत्र पौडेलले भने । बल्खुबाट फर्पिङ हुँदै हेटौँडातर्फ निर्माण भइरहेको छ । यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनको भनाइ थियो ।

थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ । त्यहाँबाट ६ किमी काठमाडौँसम्म सडक बिग्रिएको छ । मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ । चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ । थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तारोन्नतिमा समस्या भइरहेको छ ।

गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो । अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने इञ्जिनियर पौडेलले जानकारी दिनुभयो । थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ । मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ ।

निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, एकल अंक कायम गर्ने Read Previous

निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, एकल अंक कायम गर्ने

च्याट जीपीटीलाई चुनौती दिने चिनियाँ कम्पनी अलिबाबाको तयारी Read Next

च्याट जीपीटीलाई चुनौती दिने चिनियाँ कम्पनी अलिबाबाको तयारी