काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अहिलेको अर्थतन्त्रका समस्या सरकार र आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन ।
‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अफ्ठ्याराहरू देखिएका छन्,’ उनले भने, ‘सरकार र म अर्थमन्त्रीले यसलाई गम्भीरताका साथ लिएको छु । समग्रमा हामीले आत्तिनु पर्ने अवस्था छैन ।’
उनले विदेशबाट पठाएको रेमिट्यान्स र अन्तर्राष्ट्रिय परिस्थिति सहज हुँदा बाह्य क्षेत्रमा सुधार आएको बताए । ‘अन्तर्राष्ट्रिय परिस्थिति सहज भयो भने आर्थिक विकास, पूँजी निर्माण र लगानीको समस्या जुन छ, त्यो समाधान हुन्छ,’ महतले भने ।
अल्पकालीन र दीर्ङकालीन समस्याहरू छन्, तिनलाई समााधान गरेर अघि बढ्न सक्ने उनले बताए । महतले अनावश्यक खर्च निर्ममतापूर्वक कटौती गर्नुपर्ने भएपनि केही सामाजिक दायित्वलाई कम गर्न नसकिने उनको भनाय छ ।
‘अनावश्यक खर्चलाई निर्ममता पूर्वक कम गर्नुपर्छ । तर, साधारण खर्च भित्र तलब भत्ता मात्र नभएर सामाजिक दायित्व, शिक्षा, स्वाथ्यका कुराहरु छन् । त्यसलाई हामी कम गर्न सक्दौनौं,’ उनले भने ।
पूँजीगत खर्चलाई चलायमान बनाएर विकास गर्न सकिने उनले बताए । ‘ठूलो लगानी आम नागरिक, निजी क्षेत्रकै छ । यहाँहरुकै लगानीबाट अर्थतन्त्र चलायमान हुने हो । सरकारले कानुनी अफ्याराहरु हटाउने, लगानीमैत्री वातावरण बनाउने र सहजिकरण गर्ने हो,’ उनले भने । अब अर्थतन्त्र चलायमान हुने उनले बताए ।