काठमाडौं । सरकारले बढी चाप रहेका तीन वटा आन्तरिक विमानस्थल स्तरोन्नति सुरू गरेको छ । बढ्दो हवाई चाप र यात्रुको सहजतालाई मध्येनजर गर्दै सरकारले तीन क्षेत्रीय विमानस्थलको स्तरोन्नति तथा धावनमार्ग विस्तार अघि बढाएको हो ।
क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलको स्तरोन्नति सुरू भएको हो । करिब ९ अर्ब रुपैयाँ खर्चेर यी विमानस्थललाई ठूलो र अत्याधुनिक बनाउन लागिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार स्तरोन्नति अन्तर्गत तीन वटै विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक टर्मिनल भवन निर्माण सुरू भइसकेको छ । साथै, सँगसँगै धावनमार्ग विस्तार पनि अघि बढाइएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ प्रवक्ता निरौलाले बढ्दो हवाई चापलाई मध्येनजर गर्दै क्षेत्रीय विमानस्थलको स्तरोन्नति सुरू गरिएको बताए ।
‘पछिल्लो समय ठूला सहरमा हवाई यात्रुको चाप बढ्दो छ । अहिलेकै अवस्थामा आगामी दिनमा क्षेत्रीय विमानस्थलले यात्रुको चाप धान्न र सेवा दिन सक्दैन, त्यसैलाई मध्येनजर गर्दै क्षेत्रीय विमानस्थलको रनवे विस्तार र नयाँ टर्मिनल भवन बनाउने काम अघि बढाएका हौं,’ उनले भने ।
धावनमार्ग विस्तारपछि सबै क्षेत्रीय विमानस्थलमा एटीआर ७२ विमान उडान÷अवतरण गर्न सक्ने उनले बताए । साथै, अहिले हुने गरेको ट्राफिक जाम र ढिलाई समस्या समाधान गर्न प्रधिकरणले टेक्नोलोजी अपडेट र डेभलपको तयारी समेत गरेको उनले बताए ।
‘हामी विमानस्थलमा हुने ढिलाइ कम गर्न अटोमेसन र टेक्नोलोजी डेभलपको काम अघि बढाउने तयारीमा छौँ, त्यसको लागि छलफल भइरहेको छ,’ प्रवक्ता निरौलाले भने ।
एटीआर ७२ ल्याण्ड गर्न सक्ने बन्दै भरतपुर विमानस्थल
हाल एटीआर ४२ सानो जहाज उडान हुँदै आएको भरतपुर विमानस्थलको धानमार्ग विस्तार गरी एटीआर ७२ जहाज उडान भर्न सक्ने बनाउन लागिएको छ ।
भरतपुर विमानस्थल स्तरोन्नति अन्तर्गत ३ वर्षमा सम्पन्न गर्ने गरी स्तरोन्नति तथा टर्मिनल भवन निर्माण सुरू भएको हो । । १ अर्ब ९२ करोडको लागतमा अत्याधुनिक ट्रमिनल भवन निर्माण सुरू भएको हो ।
‘भरतपुर विमानस्थलमा रनवे पनि विस्तार गर्न लागेका छौँ, यसमा अहिले एटीआर ४२ को प्लेन उडिरहेको छ, विस्तार पछि एटीआर ७२ सम्मको जहाजले उडान भर्नेछन,’ उनले भने ।
हाल १ हजार २०० मिटर रहेको भरतपुर विमानस्थलको धावनमार्गलाई १ हजार ५०० मिटर लामो बनाएर एटीआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न सक्ने बनाउन लागिएको हो ।
विसं २०१५ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा २०१८ मङ्सिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो । तत्कालीन समयमा ट्वीनअटर जस्ता १८ सिटे जहाजमात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला समय एटीआर ४२, जेटस्टिम बीचक्राफ्ट जस्ता मझौला र आधुनिक जहाजको उडान हुँदै आएको छ । हाल भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा नियमित उडान हुँदै आएको छ ।
विराटनगर र सुर्खेतमा पनि अत्याधुनिक टमिर्नल भवन बन्दै
यस्तै, सरकारले विराटनगर र नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण अघि बढाएको छ । दुवै विमानस्थलको टर्मिनल निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भई निर्माणको चरणमा रहेको छ ।
विराटनगर विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि केसी, डाँफे जेभीले ठेक्का पाएको छ भने नेपालगञ्जमा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि शर्मा एण्ड कम्पनीले ठेक्का पाएको छ । दुवै विमानस्थलमा टर्मिनर भवन निर्माणको लागि र स्तरोन्नतिका लागि ३÷३ अर्ब रुपैयाँ खर्च हुँदै छ ।
हाल यी विमानस्थलमा करिब ४००/५०० जना क्षमताका टर्मिनल भवन रहेका छन् भने कम्तीमा २ हजार यात्रु सेवा लिन सक्ने क्षमताका भवन निर्माण गर्न लागिएको हो ।
विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन १६ हजार २७७ वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । हाल धावनमार्ग १ हजार ५०० मिटर रहेकोमा थप २७० मिटर दूरी विस्तार हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।