१ वर्षमा ठेकेदार सम्पर्कमा आएपछि अघि बढ्यो मैलुङ-स्याफ्रुबेँसी सडक निर्माण

काठमाडौं । लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा ठप्प रहेको मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण अघि बढेको हो । झण्डै १ वर्षपछि अहिले ठेकेदार सम्पर्कमा आएपछि काम सुरु भएको हो ।

उक्त सडक निर्माणको जिम्मा भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनले पाएको छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको प्रमुख श्रेष्ठले बताए ।

उनले भने, ‘बैंकबाट ताकेता गरेर सम्पर्कमा ल्याइएको छ, व्यवसायीले हामीलाई नयाँ व्यवस्थापनसहित काम गर्छु भनेको छ ।’

निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन ।
यो सडक खण्डमा २५ प्रतिशत प्रगति मात्रै रहेको योजनाका जानकारी दिए । उनले भने, ‘निर्माण व्यवसायीले काम नगरेर निर्माण सुस्त भएको हो ।’

सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा मुआब्जाको समस्या कम रहेको योजनाले जनाएको छ । सो ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो । अवधि थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उनले बताए ।

कामको प्रगति हेरेर निर्माणको काम अघि बढाए मात्रै थप हुने उनको भनाइ छ । उनका अनुसार काम चितबुझ्दो भएन, कामको गति बढाएन र जनशक्ति बढाएन भने थप नहुन पनि सक्छ ।

एक महिनादेखि अहिले जनशक्ति र उपकरण थप्न थालेको उनले जानकारी दिए । अहिले तीन मेसिन र १०० जना जनशक्ति रहेकामा योजनाले निर्माण कम्पनीललाई थप गर्न भनेको उनले बताए । उनले भने, ‘गति बढाउँदा अवधि थप्ने नभए जरिवाना लगाउनुपर्ने हुन्छ ।’

सडकको तल्लोपट्टि खोला रहेकामा त्यसमा पर्खाल लगाउने काम भइरहेको छ । त्यो सकिएपछि नाली बनाएर ग्राभेल गरेर कालोपत्र गरिने उनले बताए । यो सडक सरकारको बजेटबाट निर्माण भइरहेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाइ १९ किमी रहेको छ ।

ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान Read Previous

ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान

सडक मिचेर बनाइएका डेढ दर्जन प्रहरी बिट हटाउन निर्देशन Read Next

सडक मिचेर बनाइएका डेढ दर्जन प्रहरी बिट हटाउन निर्देशन