काठमाडौं । पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत प्रक्रिया अघि बढाइएको तीनकुनेस्थित बागमती पुलको काम आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ । झण्डै एक दशकपछि पुनः नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको हो । चालु आवमा डिजाइन सकाएर अर्काे वर्ष लाग्नासाथ निर्माणमा जाने योजना बनाइएको हो ।
केही समय पहिले ‘होल’ खोपेर माटो परीक्षण गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कस्तो पोल राख्ने भनेर माटो जाँच भएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए।
कस्तो पुल बनाउने, कुन कुन संरचना कहाँ र कसरी गर्ने भनी डिजाइन भइरहेको उनले जानकारी दिए । काम सुरु गर्नुअघि यसअघि सो पुल निर्माणमा संलग्न निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन कम्पनीले बनाएको संरचना भत्काउनुपर्ने उनको भनाइ छ ।
वि.सं २०७९ असार १० मा सम्झौता भएको सो ठेक्काको जम्मा अवधि ४२ महिना छ । अहिले सञ्चालनमा रहेको बीचको पुलको दुवैतर्फ पुल बनाउने गरी एउटै निर्माण कम्पनीलाई जिम्मेवारी दिइएको छ । डिजाइन स्वीकृत भएसँगै निर्माण हुनेछ । करिडोर निर्माण गरिरहँदा बाधा पुग्ने भनेपछि केही समय कुरिएको सूचना अधिकारी जोशीले बताए । उनले भने, `हामीले काम नसकाएसम्म होल खोप्न पाइँदैन भनेर रोकेर त्यो सकिएपछि नै होल खोपिएको छ ।´
यो आवमा डिजाइनमा नै लाग्ने र त्यो सकिएपछि आगामी आवबाट मात्रै भौतिक काम हुनसक्ने देखिएको आयोजनाले जनाएको छ । डिजाइन सकिँदासम्म वर्षा सुरु हुने भएकाले खन्ने काम गर्न नहुने उनले बताए ।
कम्पनीले डिजाइन बुझाएपछि आयोजनाबाट क्षेत्रीय हुँदै विभाग पुगेर त्यहाँबाट स्वीकृत भएपछि मात्रै निर्माणमा जान सकिने छ । डिजाइनका क्रममा कुनै कुरा नमिलेको पाइएमा कहिले आयोजनाले फर्काउने, कहिले क्षेत्रीय त कहिले विभागले फर्काउने गरेका छन् । उनले भने, `डिजाइनको स्वीकृतिका लागि सँगै बसेर छलफल गर्ने चलन हुँदैन, कहिले के मिलेन भनेर फर्किरहँदा पनि डिजाइनमा बढी समय लाग्छ ।´
आयोजनाले यसअघि नै विगतमा काम गरेको कम्पनीसँग भएको धरौटी र बैंक ग्यारेन्टी जफत गरिसकेको छ । कम्पनीसँग ठेक्का तोडिएपछि उसले बिगारेको संरचना भत्काउन र बनाउन लाग्ने लागत बोहर्नपर्ने हुन्छ । असुल हुन बाँकीलाई बाँकी असुल सरह गरी अर्थ मन्त्रालयअन्तर्गत कुमारीचोक तथा केन्द्रीय कार्यालय पठाइएको छ ।
पहिले पनि निर्माण कम्पनीले कहिले काम नगर्ने त कहिले डिजाइनभन्दा फरक निर्माण गर्दा लामो समयसम्म अलपत्र परेको सो आयोजनामा हाल कार्यरत निर्माण कम्पनी पनि अहिले कालोसूचीमा परेको छ । ठेक्का भएर पछि मध्यपहाडी राजमार्गमा पुल नबनाएर कम्पनी कालोसूचीमा परेको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माण गरी ठेक्का वाइ÷पि÷किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार रहेको छ ।
बिजुली बजारको पुल जस्तै यो पुल पनि नयाँ प्रविधि मानिने ‘आर्स एण्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको हो । यस्तो डिजाइनको पुलले शहरी क्षेत्रको आकर्षण बढाउने हुँदा सडक विभागले मुख्य सडकमा निर्माण अघि बढाएको थियो । विसं २०७१ मा तीनकुने पुल र बिजुली बजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुली बजारस्थित धोबीखोला पुल तीन वर्ष पहिलेदेखि नै सम्पन्न भएर सञ्चालनमा छ ।
तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनःनिर्माण सुरु गरिएको हो । अरु पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ ।