काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । लगातार ४१ अंकको गिरावटपछि बुधबार ८ अंकले बढेको नेप्से आज फेरि घटेको छ ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ करोडले बढेर ९२ करोड पुगेको छ ।
बिहीबार सेयर बजार मापक सूचक नेप्से ८.२४ अंकले घटेर १८६६.७९ बिन्दुमा पुगेको छ । यसदिन २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक घटेको छ भने ३ समूहको बढेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी र नबिल बैंक समान पौने ३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कालिञ्चोक दर्शन र सिटिजन्स म्युचुअल फण्ड २ को सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।