गति लिँदै नारायणगढ-बुटवल सडक : कालोपत्र सुरू, १५ पुल अन्तिम चरणमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडक निर्माणले पछिल्लो समय गति लिन थालेको छ ।

निर्माण सुरू भएको ३ वर्षसम्म सुस्त रहेको सडक विस्तारले चालु आवमा भने गति बढाएको हो । ३ वर्षमा जम्मा १८ प्रतिशत मात्र भौतिक प्रगति भएको आयाजनको चालु आवको ८ महिनामा थप ९ प्रतिशत प्रगति भएको छ ।

हालसम्म आयोजनाको समग्र भौतिक प्रगति २७ प्रतिशत पुगेको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले चालु आवमा आयोजनाको ५० प्रतिशत बढी काम सक्ने लक्ष्य रहेको बताए ।

लक्ष्य अनुसार नै काम पूरा गर्न अहिले एकैसाथ वाल लगाउने, पुल निर्माण, ग्राभेल राख्ने, कालोपत्र गर्ने लगायत काम भइरहेको उनले बताए ।‘विगतमा सुस्त रहेको सडक विस्तार चालु आवमा गति लिएको छ । अहिले एकैसाथ वाल लगाउनेदेखि कालोपत्रसम्मका काम भइरहेको छ,’ उनले भने, ‘अहिले दैनिक १२०० बढी मजदुर खटिएका छन्, चालु वर्षमै ५० प्रतिशत बढी प्रगति हुन्छ ।’

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले हाल मासिक तीन प्रतिशतभन्दा बढी प्रगति हुने गरी काम भइरहेको बताए । ‘हाल सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ । सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन । माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन्,’ उनले भने ।

४२ महिनाभित्र सम्पन्न गर्ने गरी २०७५ चैत ८ गतदेखि सडक विस्तारको कामको सुरू भएको थियो । आयोजनाको म्याद गत वर्ष असारमै सकिए पनि १ वर्ष थपिएको थियो । पछिल्लो पटक थपिएको म्यादमा पनि काम नसकिने भएपछि निर्माण कम्पनीले म्याद थपका लागि प्रस्ताव गर्ने तयारी गरेको छ ।

गैँडाकोट खण्डमा कालोपत्र सुरू

नारायणगढ–बुटवल सडकको पश्चिम खण्ड अन्तर्गत कावासोती क्षेत्रमा कालोपत्र सुरू भएको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ ।

ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म ३ किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिए । ‘हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौँ,’ उनले भने, ‘गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाएका छौँ ।’ अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप ५ किलोमिटर सडक कालोपत्रको तयारी छ ।

सडक विस्तारका लागि निर्माण कम्पनीले एक हजारभन्दा बढी जनशक्ति तथा २०० बढी उपकरणको प्रयोग गरिरहेको झाले बताए । सडक विस्तारका लागि ८० टिपर, ३० एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजरसहितका उपकरणको प्रयोग गरिएको छ । डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रको काम भइरहेको छ ।

१५ पुल निर्माण अन्तिम चरणमा

पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति लिन थालेको छ । यस सडकखण्डमा ६ ठूला र ९ साना पुलको निर्माण अन्तिम चरणमा पुगेको हो ।

पश्चिम खण्डमा ९ ठूलो र २१ सानो पुल रहेका छन् । तीमध्ये तीन ठूला र १४ सानो सकिएको तथा दुई ठूलो र चार सानो सकाउने गरी काम भइरहेको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताए । उनका अनुसार पूर्वी खण्डमा अहिले ठूला ४ र साना ५ पुल सम्पन्न हुने चरणमा रहेका छन् ।

आयोजनाले दाउन्ने खण्डमा भने पुल सुरू नगरेको र त्यहाँ वर्षा पहिले सुरू गर्न नहुने अवस्था रहेको प्रमुख शाक्यले बताए । वर्षा सकिएपछि त्यहाँका पुलको निर्माण सुरू गरिने योजना रहेको उनले जानकारी दिए ।

दुवै खण्डमा निर्माणाधीन पुलमा विभिन्न चरणमा काम भइरहेको छ । आगामी आवसम्म सडक र पुल दुवै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण गर्न बाँकी रहेकामा साना पुल बढी रहेका छन् । अहिलेसम्म ठूलाठूला पुलमा जगको काम भइसकेको छ । उनले भने, ‘पुलमा मुख्य गरी जगको काम भएपछि माथिल्लो भागमा समय धेरै लाग्दैन ।’

४ वर्षअघि विस्तारको काम सुरू भएको नारायणगढ–बुटवल खण्डको सहरी क्षेत्रमा ४ लेनका अतिरिक्त २ लेन तथा ग्रामीण क्षेत्रमा ४ लेनमा राजमार्ग फराकिलो गरिँदै छ । दाउन्ने पहाडको ५ किलोमिटर क्षेत्रमा भौगोलिक अवस्थाका कारण सडक तीन लेन विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

 

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक १.१६ खर्बको क्षति Read Previous

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक १.१६ खर्बको क्षति

व्यवसायी विस्थापित हुने क्रम बढ्दै, दाङमा बन्द भए २७३ उद्योग Read Next

व्यवसायी विस्थापित हुने क्रम बढ्दै, दाङमा बन्द भए २७३ उद्योग