एकैपटक दुई कम्पनीको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । आज कार्यालय समयदेखि दुई जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला हुने भएको छ ।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ विक्री खुला गरेका हुन् । रावा इनर्जी आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र भूगोल इनर्जीले सर्वसाधरणका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका खोटाङका स्थानीय बासिन्दा लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको छ ।

सो आइपीओमा खोटाङको केपीलासगडी गाउँपालिका (साविकको फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस)का सम्पूर्ण बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका ५६ लाख रुपैयाँ बराबरका ५६ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र ढिलोमा वैशाख २२ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन https://ipoapply.prabhucapital.com/  बाट पनि आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेकाले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

भूगोल इनर्जीको सर्वसाधरणका लागि साढे १३ करोडको आइपीओ

भूगोल इनर्जीले आजदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड ४६ लाख ९९ हजार ३०० रुपैयाँ बराबरको १३ लाख ४६ हजार ९९३ कित्ता सेयर विक्रीमा ल्याएको छ ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा चैत २७ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा वैशाख ७ गतेसम्म आवेदन दिन पाइन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीले ‘इक्राएनपी आईआर बी माइनस रेटिङ’ पाएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

पोखरामा नववर्ष महोत्सव हुने Read Previous

पोखरामा नववर्ष महोत्सव हुने

५ पटक म्याद थप्दा पनि हुलाकी सडक निर्माण अधुरै Read Next

५ पटक म्याद थप्दा पनि हुलाकी सडक निर्माण अधुरै