काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजना रुख कटान स्वीकृत नहुँदा अघि बढ्न सकेको छैन । झण्डै १ सय १४ किलोमिटर लम्बाई रहेको सो सडक खण्डको ठेक्का चाइना स्टेट कन्ष्ट्रक्सनले पाएको हो ।
सन् २०१८ डिसेम्बरमा नारायणगढ–बुटवल सडक सम्झौता भएको थियो । २ लेनको सो सडक ४ लेनमा विस्तार गर्न चिनियाँ कम्पनीलाई हस्तान्तरण गरेको ११ महिना बितेको छ ।
सडक विभागका अनुसार हाल सो सडक विस्तारका लागि चिनियाँ कम्पनी ‘साइट’मा पुगेको छ । ठेक्का कम्पनी ‘साइट’मा पुगे पनि रुख कटानको फाइल मन्त्रालयमै अड्किँदा काम अघि बढाउन सकिएको छैन ।
सडक विभागका सूचना अधिकारी अर्जुन सुवालका अनुसार हाल वनको स्वीकृति नदिएकै कारण सडक विस्तारमा समस्या निम्तिएको छ । उनले रुख कटानका लागि सम्बन्धित निकायमा निवेदन पठाएपछि हालसम्म स्वीकृत हुन नसकेको बताए ।
पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क नआएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउन ढिलाइ भएको हो ।
‘हामीले रुख कटानका लागि भनेर वनमा निवेदन राखेका छौँ, त्यो अघि बढेको छैन, त्यसमा छलफल हुँदैछ,’ सुवालले चाणक्य पोष्टसँग भने ।
पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क नआएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउन ढिलाइ भएको हो ।
दोस्रो पटकको वातावरणीय अध्ययनबाट कम्तीमा ५० हजार रुख कटान गर्नु पर्ने अनुमान गरिएको छ । रुख नभएको स्थानमा कम्पनीले माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम गरिदैछ । रुख काट्ने अनुमति नआएको र काम शुरु गर्नसमेत ढिलो भएपछि कम्पनीले रुख नभएको स्थानबाट काम शुरु गरेको हो ।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले भने फिल्डमा ठेकेदार कम्पनी पुगेर काम सुरु गरेको जनाएको छ ।एडीबीका शाखा कार्यकारी निर्देशक सुरेस पौडेलका अनुसार नारायणगढ–बुटवल सन् २०१८ डिसेम्बरमा ठेकेदारसँग सम्झौता भएको र २०१९ फेब्रुअरीबाट कम्पनीकोसमय सुरु भएको हो ।
उनले कम्पनीले सामान भित्राउने, साइट तयार गर्ने काममा ११ महिना सकिएको बताए । उनले सो समयसम्ममा कम्पनीले पूर्व तयारीको काम गरेको दाबी गरे ।
‘हेर्दा ११ महिना सकिए जस्तो देखिन्छ, केही काम भएको जस्तो पनि देखिन्छ तर, त्यस्तो हैन ठेकेदार कम्पनीले सामान किन्ने, ढल तथा खानेपानीका पाइप हटाउने काम गर्दै गरेको थियो, विजुलीका पोल हटाउन पनि पहल भइरहेको छ, रुख काट्नलाई वनसँग छलफलको क्रममा छौँ,’ पौडेलले चाणक्य पोष्टसँग भने ।
अब ठेकेदारले २०१९ फेब्ररीबाट ३ वर्ष भित्रमा सडक विस्तार गरिसक्नु पर्ने हुन्छ । उनले हाल ठेकेदार कम्पनीले सडकको दायाँ–बायाँ माटो भर्ने काम गरिरहेको बताए । दुबै तर्फ एक/एक मिटर माटो भरेर सडक विस्तार गर्नु पर्ने हुनाले हाल कम्पनीले सो काम सुरु गरेको छ ।
सडकको दुई/दुई लेनको बीचमा ३ मिटरको भाग ‘ग्रीनरी’ का लागि छुटाइने छ । त्यस बीचको भागलाई केही अग्लो बनाएर त्यसमा बिरुवा रोप्न मिल्ने बनाइनेछ । सडक विस्तार पछि डिभाइडरको दुईतर्फ ७/७ मिटरको सडक निर्माण हुनेछ । प्रत्येक लेन ३.५ मिटरको हुनेछ ।
यस्तै कम्पनीले सडक निर्माण पछि ५ वर्षसम्म मेन्टेनेन्सको काम गर्नु पर्ने छ । सडक भत्कीने या त्यसमा भौतीक समस्या आए त्यो ठेकेदार कम्पनी आफैंले गर्नु पर्नेछ ।
कम्पनीले हालसम्म डेढ अर्ब रुपैयाँ भुक्तानी पाएको छ । प्रथम किस्ताको मोबीलाइजेसनका रुपमा कम्पनीलाई करिब डेढ अर्ब रुपैयाँ पेस्की दिइसको एडीबीले जनाएको छ ।
‘सुरुमा सम्झौता भएपछि झण्डै डेढ अर्ब दिएका थियाैं, अब उनीहरुले आफुले फिल्डमा गरेको कामको खर्च देखाएपछि मात्र बाँकी रकम लिन पाउछन् र, त्यसै अनुसार रकम भुक्तान गरिन्छ,’ पौडेलले भने ।
ठेकेदार कम्पनीले नारायणगढ– बुटवल सडक खण्डमा दुबै तर्फ माटो भर्ने काम सकेपछि सब बेस र बेस निर्माण गरि कालोपत्रेको काम गर्नेछ । साथै सो कम्पनीले उक्त सडक खण्डमा पर्ने २१ वटा सडक पुल समेत आफैं निर्माण गर्नु पर्नेछ । सडक पुल दुई लेनको निर्माण गरिने छ । नारायणगढ–बुटवल सडक खण्ड करिब १७ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको हो ।
सडकको दुई/दुई लेनको बीचमा ३ मिटरको भाग ‘ग्रीनरी’ का लागि छुटाइने छ । त्यस बीचको भागलाई केही अग्लो बनाएर त्यसमा बिरुवा रोप्न मिल्ने बनाइनेछ । सडक विस्तार पछि डिभाइडरको दुईतर्फ ७/७ मिटरको सडक निर्माण हुनेछ । प्रत्येक लेन ३.५ मिटरको हुनेछ ।
सडकको दुबैतर्फको छेउमा पातलो पीच गरिनेछ । यस्तो सडकलाई असफाल्ट भनिन्छ । सडकको दुबैतर्फ २.५ मिटरको भागलाई पातलो पीच गरेर गाडीहरु पार्किङका लागि प्रयोग गरिने छ । सो ठाउँमा गाडी गुडाउन दिइने छैन ।
सडक खण्डमा राजमार्ग छेउका बस्तीहरुमा ‘सर्भिस लेन’ राखिन्छ । झण्डै २८ किलोमिटर सडकमा ७ मिटर सर्भिस लेन हुनेछ ।