एसएमई प्लेटफर्म : पूँजी बजारको विकासका लागि कि ठूला लगानीकर्ताको पक्षपोषण ?

काठमाडौं । पूँजी बजारमा साना तथा मझौला उद्योग (एसएमई) कम्पनीहरूको छुट्टै कारोबारको लागि नेपाल धितोपत्र बोर्डले प्रक्रिया अघि बढाएको छ ।

बोर्डले गत साता ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९’ को मस्यौदा सार्वजनिक गर्दै राय मागेको छ । अब सो मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

बोर्डले २५ करोड रूपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीहरूलाई एसएमई वर्गमा राख्ने प्रस्ताव गरेको छ । यद्यपि, कम्पनीको अवस्था हेरेर पूँजी थपघट गर्न सक्ने बोर्डले जनाएको छ ।

एसएमई कम्पनीले प्रिमियममा सेयर निष्काष्सन गर्न पाउने व्यवस्था पनि गरेको छ । संगठित संस्था लगातार पछिल्लोे तीन वर्षसम्म खुद नाफामा सञ्चालन रहेको, संस्थाको प्रतिसेयर चुक्ता पूँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएको, औसत वा सोभन्दा माथिल्लो क्र्रेडिट रेटिङ ग्रेड पाएको हुनुपर्नेछ ।

पूँजी बजारमा साना तथा मझौला कम्पनीहरूको कारोबारका लागि छुट्टै (एसएमई प्लेर्टफर्म ) स्थान दिनुपर्छ भन्ने बहस यसअघि नै उठेको थियो । तर, बोर्डको नेतृत्व, पूँजी बजारप्रतिको उच्च नेतृत्वको दृष्टिकोण, प्राविधिक समस्या जस्ता कारणहरूले छुट्टै प्लेटफर्म बनाउन हालसम्म सकेको छैन ।

हाल साना तथा ठूला कम्पनीहरूको कारोबार एउटै प्लेटफर्मबाट हुँदै आएको छ । बोर्डले साना तथा मझौला पूँजी भएका व्यवसायीहरूको लागि छुट्टै स्थान नबनाउँदा एकातिर ठूला लगानीकर्ताकै रजगज भएको छ भने अर्कोतिर साना व्यवसायले प्राथमिकता पाउन सकेका छैनन्, जो पूँजी निर्माण गरेर व्यवसाय गर्न चाहन्छन् ।

धितोपत्र बोर्ड नेपालका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ साना कम्पनीहरूलाई पनि पूँजी बजारको दायरामा ल्याउर अघि बढाउन यस्तो व्यवस्था गर्न लागेको बताउँछन् ।

‘साना कम्पनीहरूलाई बजारमा सुरक्षित रूपमा फरक तरिकाले अघि बढाउने उद्देश्यले बोर्डले नियमावली ल्याएको हो, त्यसलाई कसरी सुधार गरेर अघि बढ्ने भन्ने हो,’ उनले भने, ‘ठूलो कम्पनीहरूले सर्वसाधारणमा जाँदा जसरी जुन नियम फलो गर्नुपर्छ, त्यसमा साना कम्पनीलाई सहज हुन्छ ।’

बोर्डका पूर्वकार्यकारी निर्देशक तथा सेयर बजारका जानकार निरज गिरी एसएमईको छुट्टै प्लेटफर्म भन्नाले त्यसको कारोबार गर्ने मेकानिजम् सबै फरक हुने बताउँछन् ।

गिरी भन्छन्, ‘इन्टरडे मुभमेन्ट लगायत अन्य कुराहरू फरक हुन्छ, त्यसैले अर्बौ रूपैयाँको कम्पनी र सानो कम्पनीको कारोबार गर्ने एउटै मेकानिजम संसार भरी राख्दैनन् ।

ब्रोकर कारोबार गर्ने तरिका एउटै भए पनि अरु कारोबार गर्ने मेकानिजम फरक हुने भएकाले छुट्टै प्लेटफर्म बनाइने उनले बताए । ‘प्लेटफर्म भन्ने बित्तिकै नेप्सेले मेकानिजम् छुट्टै दिनुपर्यो । जसको लागि कारोबार र किनबेचदेखि लिएर सबै फरक माध्यमबाट हुन्छ,’ उनले भने ।

एसएमई प्लेटफर्मको आवश्यकता किन ?

पूँजी बजारमा एसएमई प्लेटफर्मले साना मझौला उद्योगहरूलाई उत्पादन बढाउन र वित्तीय क्षेत्रलाई नै चलाउमान बनाउने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

‘अहिले साना मझौला उद्योगलाई पूँजी आवश्यक पर्यो भने बैंकमै जानु पर्ने हुन्छ, यदि उद्योगले राम्रो गर्यो भने सर्वसाधारणबाटै रकम उठाएर त्यो झन्जट नलिनुपर्ने र भोलि राम्रो गर्न सक्छ,’ गिरी भन्छन् ।

साना तथा मझौला उद्योग व्यवसायका लागि पूँजी बजारमा छुट्टै स्थान हुँदा त्यसले साना उद्यमहरू जन्माउने र व्यवसायिक दायरा बढाउने उनले बताए । यस्ता उद्योगहरूको आवगमनले आन्तरिक अर्थतन्त्र र वित्तीय क्षेत्रमै सकारात्मक प्रभाव पार्ने उनीहरूको भनाइ छ ।

नेपालमा एसएमई प्लेटर्फमका लागि छ्ुट्टै कारोबारको व्यवस्था गर्न ढिलो भए पनि आवश्यक र महत्पूर्ण रहेको उनी बताउँछन् । ‘स्वदेशमै वस्तुहरू उत्पादन गरिरहेका स–साना कम्पनीहरू एसएमईमा जानपाए ठूलो हुन्छन्,’ उनले भने, ‘यसले त्यस्ता साना कम्पनीलाई लिएर आउँछ । त्यसैले सबै कोणबाट हेर्ने हो भने यसलाई ल्याउन ढिला भइसकेको हो ।

आफू बोर्डमा हुँदादेखिनै ल्याउने प्रयास गरे पनि विभिन्न कारणले नसकिएको उनले बताए । ‘म बोर्डमा हुँँदा पनि हामीले ल्याउने प्रयास गरेका थियौं । तर त्यत्ति बेला विभिन्न कारणले सकेनौं,’ उनी भन्छन्, ‘स्टक एक्सचेन्जका आफ्नै गुनासा थिए । अहिले जुन किसिमले अघि बढी राखेको छ, यो बजारको लागि जरुरी आवश्यकता हो ।’

ठूला लगानीकर्ताकै पक्षपोषण !

बोर्डले नियमावलीको मस्यौदामा न्यूनतम २५० कित्ताको लागि धितो पत्र निष्काशनमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ । ‘आवेदकले निष्काशन गरिने सेयर मध्ये न्यूनतम २५० कित्ता खरिदको लागि दरखास्त दिनुपर्नेछ,’ नियमावलीको मस्यौदामा उल्लेख छ । हाल साना तथा ठूला सबै कम्पनीको लागि न्यूनतम १० कित्ताको लागि आवेदन दिनुुपर्ने व्यवस्था छ ।

साना तथा मझौला व्यवसायको पूँजी निर्माण र बजारमा साना लगानीकर्ताको लगानीको सहभागिता वृद्धिका लागि एसएमई प्लेटफर्मको आवश्यकता महसुस गरिएको पूँजी बजारकै जानकारले बताउँदै आएका छन् ।

तर, नियमावलीमा गरिएको प्रस्तावित व्यवस्थाले ठूला लगानीकर्ताकै पक्षपोषण गर्ने देखिन्छ । अहिले १० कित्ता सेयर भर्न एक हजार रूपैयाँ चाहिन्छ भने यो व्यवस्था कार्यान्वयनमा आएपछि न्यूनतम सेयर आवेदनका लागि २५ हजार रूपैयाँ आवश्यक पर्नेछ ।

पछिल्लो समय पूँजी बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या बढ्दो छ । लामो समयको छलफल र प्रयासपछि बोर्डले २०७५ चैतदेखि १० कित्ता अर्थात् १ हजार रुपैयाँमै आइपीओ भर्न पाउने व्यवस्था गरेको थियो । यसले पूँजी बजारमा लगानीकर्ताको प्रवेश ह्वात्तै बढाउनुका साथै सानो पूँजी भएका व्यक्ति पनि पब्लिक कम्पनीको सेयरधनी बन्नसकेका छन् ।

तर, अब न्यूनतम २५० कित्ता आइपीओ भर्नुपर्ने व्यवस्था गरिए साना लगानीकर्ता आइपीओ भर्नै बञ्चित हुनुपर्ने अवस्था ल्याउँछ । अहिले १ हजारमा आइपीओ भर्दै आएका लगानीकर्ताले आइपीओ भर्नका लागि मात्रै २५ हजार जुटाउन नसक्ने देखिन्छ ।यो व्यवस्था लागू भए पैसा हुनेले मात्रै आइपीओ भर्न पाउने अवस्था हुन्छ ।

बोर्डका पूर्व निर्देशक गिरी यो व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने बताउँछन् । ‘अहिले छलफलकै लागि भनेर राखेको छ । एसएमई भन्ने बित्तिकै सानो कम्पनी हुन्छ,’ उनले भने, ‘त्यसमा पनि २५० कित्ता न्यूनतम भन्दा कतिले पाउने र भोलि कर्नरिङदेखिको कुरा आउँछ एसएमईका लागि त्यो भेको ठूलै रकम हो । त्यसमा बोर्डले रिभ्यू गर्छ होला ।’

बोर्डका प्रवक्ता श्रेष्ठ यो विषय साना लगानीकर्ताका लागि व्यवहारिक नभएकाले पुर्नविचार गर्न सक्ने बताए । ‘यो अलिकति सानो लगानीकर्ताको लागि त्यत्ति व्यवहारिक हुँदैन,’ उनले भने, ‘त्यसकारण यसमा बोर्डले पुनर्विचार गर्न सक्छ ।’

 

सिद्धार्थ राजमार्ग दैनिक ९ घण्टा बन्द हुने Read Previous

सिद्धार्थ राजमार्ग दैनिक ९ घण्टा बन्द हुने

जयनगर-कुर्था रेल सेवा : वार्षिक आम्दानी ८ करोड, खर्च ५० करोड Read Next

जयनगर-कुर्था रेल सेवा : वार्षिक आम्दानी ८ करोड, खर्च ५० करोड