काठमाडौं । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार हुने स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।
२०७२ सालमा भारतले अघोषित गरेको नाकाबन्दी लगाएपछि सरकारले सो सडक दुई लेनमा विस्तार गर्ने निर्णय गरेको थियो । पछि चीन सरकारले आर्थिक सहयोगमा काठमाडौं–केरुङ सडक दुई लेनको बनाइदिने बताए पनि हालसम्म काम अघि बढ्न सकेको छैन ।
कोभिडका कारण देखाउँदै चीनले काम सुरू नगरेको सो सडक विस्तार अब भने चाँडै अघि बढ्ने भएको हो । चीनसँगको मुख्य अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने साे सडकको स्तरोन्नति सुरू गर्न चिनियाँ टोली चाँडै नेपाल आउने भएको हो ।
गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख ध्रुव श्रेष्ठका अनुसार चाँडै चिनियाँ टोलीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक विस्तारको काम सुरू गर्ने भएको छ । चिनियाँ टोलीले हालै निर्माण सुरू गर्न मुआब्जा वितरण र पोल हटाउने काम सक्न निर्देशन दिएको उनले बताए ।
‘चिनियाँहरू आउने सुरसारमा छन् त्यसको लागि मुआब्जाको काम सक्न र बिजुलीका पोल हटाउन निर्देशन आएको छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ‘कति गते आउने भनेका छैनन् तर, मुआब्जाको काम छिट्टै सके काम सुरू गर्छौं भनेका छन् ।’
उनले चिनियाँ टोली चाँडै काठमाडौं आइपुग्ने बताए । योजनाले मुआब्जा वितरणका लागि सूचना जारी गरिसकेको बताए । उनका अनुसार स्याफ्रु बजारमा १५ मिटरमा बजार नै हटाउनु पर्ने भएकाले ढिलाइ भएको हो ।
‘स्याफ्रुबेसीको १५ मिटरमा पूरा बजार उठ्ने हुँदा मुआब्जा वितरणमा ढिलाइ भएको हो, हामीले मुआब्जा लिन आउन सूचना निकालेका छाँै, अब मूल्यांकन गरेर बाँड्न मात्र बाँकी छ,’ उनले भने ।
यस्तै, स्याफ्रुबेँसीमा ५० वटा पोल हटाउन बाँकी रहेको छ । उक्त पोलहरू मध्ये केही सडक बीचमा भए र हटाउदा खाल्टोमा पर्ने भएकाले चिनियाँ टोलीले वाल लगाएपछि कुनामा सार्ने तयारी भएकाले हाल नहटाइने उनले बताए ।
उनका अनुसार चिनियाँ टोली आएर निर्माण सुरू गरे पछि झण्डै २ वर्षमा निर्माण सक्ने तयारी रहेको छ । चिनियाँ सरकारको सहयोमा बन्न लागेको काठमाडौंदेखि केरुङ जोड्ने यो सडकमार्गको दूरी १७४ किलोमिटर रहेको छ । यसलाई ३ भागमा विभाजन गरेर काम गरिने भएको छ । काठमाडौं—गल्छी खण्डको ५४ किलोमिटर सडक दुई लेनको भए पनि गल्छीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने तयारी रहेको छ ।
२०७२ सालमा भारतले अघोषित गरेको नाकाबन्दी गरेपछि काठमाडौं–केरुङ नाका २ वर्षभित्र २ लेनको बनाउने निर्णय गरिएको थियो । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक यही नै हो । हाल एक लेनको सडक साँघुरो हुँदा रसुवागढीबाट सामान लिएर आउन निकै कठिनाइ हुँदै आएको छ ।
यस्तै, मैलुङ–स्याफ्रुबेंसी खण्डमा पर्ने १८ किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । यस खण्डमा सेनाले थालेको काम बाहेक अन्य स्थानमा कुनै पनि कामले गति लिन सकेको छैन ।