काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार १७ अंकले बढेको नेप्से आज पनि १२ अंकले बढेको हो ।
सूचकसँगै कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोेबार रकम ६ करोडले बढेर भलन्डै डेढ अर्ब पुगेको छ ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से १२.१० अंकले बढेर १९१८.१० बिन्दुमा पुगेको छ । यसदिन २५८ कम्पनीको १ अर्ब ४४ करोड रुपैयाँ बढीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचकमा हरियाली बढेको छ भने ३ समूहको घटेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले बढेको छ ।
आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी झन्डै ६ करोड र शिवम सिमेन्ट पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सुपर माइ हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने एशियन हाइड्रोपावर र श्रृजनशिल लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, महिला लघुवित्त ८.९२, नेरुडे लघुवित्त, किसान लघुवित्त, युनिक नेपाल लघुवित्त र स्वाबलम्बन लघुवित्तको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।