काठमाडौं । समान हैसियतमा गाभिन लागेका दुई लघुवित्तको सेयर मूल्यमा भने झन्डै दोब्बरको अन्तर रहेको छ ।
सोबार मात्रै गाभिने सम्बन्धी अन्तिम सम्झौता गरेका डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था बीच सेयर मूल्यमा भने झन्डै दोब्बरको फरक रहेको हो ।
डिप्रोक्सले आदर्शलाई बराबरी हैसियत अर्थात् १:१ सेयर अनुपातमा गाभ्न लागेको हो । तर, गाभिन लागेको आदर्शको सेयर मूल्य डिप्रोक्सकोभन्दा झन्डै दोब्बरले बढी छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार मंगलबार १२ः३० बजेसम्म डिप्रोक्सको सेयर मूल्य प्रतिकित्ता ६६७ रुपैयाँ रहेको छ । जबकि आदर्श लघुवित्तको सेयर मूल्य डिप्रोक्सकोभन्दा झन्डै दोब्बर अर्थात् प्रतिकित्ता १३१६ रुपैयाँमा कारोबार भइरहेको छ ।
अहिले आदर्शको सेयर मूल्य धेरै भए पनि एकीकृत कारोबारपछि भने घट्ने देखिन्छ । एकीकृत कारोबारपछि आदर्शको सेयर पनि डिप्रोक्सकै नाममा कारोबारमा आउने छ ।
हाल डिप्रोक्सले चुक्तापूँजी १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ रहेको छ भने आदर्शको २ करोड ४८ लाख रुपैयाँ छ । एकीकृत कारोबारपछि नयाँ संस्थाको चुक्ता पूँजी १ अर्ब ५५ करोड पुग्नेछ ।