काठमाडौं । हाइड्रोपावर कम्पनीहरूले हकप्रदको बाढी ल्याउने भएका छन् । अन्य आयोजनमा लगानी गर्नका लागि पूँजी जुटाउन र बैंकको ऋण तिर्न हाइड्रोपावरहरूले हकप्रद सेयर जारी गर्न लागेको हुन् ।
हाल नेप्सेमा ६८ हाइड्रोपावर कम्पनी सूचीकृत छन् । तीमध्ये झन्डै १७ प्रतिशत अर्थात् एक दर्जन कम्पनीले हकप्रद सेयर जारी गर्ने घोषणा गरेका हुन् ।
नेप्सेमा सूचीकृत १२ कम्पनीले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाएका छन् । यी कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ अर्ब ९९ करोड रुपैयाँ बढीकाे २२ करोड २९ लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएका हुन् ।
हकप्रद सेयर जारी गर्ने घोषणा गरेका मध्ये ७ वटा कम्पनीले विद्युत् नियमन आयोगबाट अनुमति पाई अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।
माथिल्लो तामाकोसी, सिनर्जी पावर, अपि पावर, अरुण काबेली, हिमाल दोलखा, नेशनल हाइड्रोपावर र राधी जलविद्युत् कम्पनीले बोर्डमा आवेदन दिइसकेका छन् । तीमध्ये राधीले बोर्डबाट अनुमति समेत पाइसकेको छ भने अरु कम्पनीको प्रक्रिया अध्ययनको चरणमा रहेका छन् । बोर्डले अन्तिम स्वीकृति दिएपछि कम्पनीहरूले हकप्रद सेयर जारी गर्न पाउँछन् ।
त्यस्तै, ४ वटा कम्पनली हकप्रद सेयर जारी गर्ने घोषणा गरेका छन् । रडी पावर, घलेम्दी हाइड्रोपावर, बलेफी हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेका छन् ।
यी कम्पनीले उक्त प्रस्ताव संचालक समितिबाट पारित गरी साधरण सभामा लैजाने प्रक्रियामा छन् । साधरण सभाले पारित गरिसकेपछि विद्युत् नियमन आयोग र धितोपत्र बोर्डबाट अनुमति लिनु पर्दछ ।
कुन कम्पनको कति हकप्रद आउँदै छ ?
हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेका कम्पनीहरूले हाल कायम चुक्ता पूँजीको न्यूनतम ४० प्रतिशतदेखि २०० प्रतिशत हकप्रद जारी गर्ने भएका छन् ।
रकमा आधारमा सबैभन्दा धेरै हकप्रद सेयर माथिल्लो तामाकोसीले जारी गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना तामाकोसीले माथिल्लो रोलवालिङ जलविद्युत् आयोजना बनाउन साढे १० अर्ब रुपैयाँ बढीको हकप्रद सेयर जारी गर्ने भएको हो ।
तामाकोसीले चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । तामाकोसीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हाल १० अर्ब ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद जारी गर्न आयोगबाट स्वीकृति पाई बोर्डमा आवेदन दिइसकेको छ । हाल १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातका हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न आयोगबाट स्वीकृति पाई बोर्डमा आवेदन दिएको छ ।
हाल ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सिनर्जीको हकप्रद निष्काशनपछि चुक्ता पूँँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
नेशनल हाइड्रोपावरले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातका हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८२ करोड २१ लाख ४५ हजार ९७ हजार १०० रुपैयाँ बराबरको ८२ लाख २१ हजार ९७१.७८ कित्ता हकप्रद सेयर जारी गर्न आयोगबाट स्वीकृति पाई बोर्डमा आवेदन दिएको छ ।
त्यस्तै, अपि पावरले बैंकको ऋण तिर्नका लागि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत (१ः०.४ सेयर अनुपात)मा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । अपिले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बरारबको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्न आयोगबाट स्वीकृति पाई बोर्डमा आवेदन दिएको छ ।
त्यसैगरी, लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । लिबर्टीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यसले पनि आयोगबाट स्वीकृति पाइसकेको छ ।
हाल ३६ मेगावाटको माथिल्लो बलेफी ए जलविद्युत् आयोजना संचालन गरिरहेको बलेफी हाइड्रोपावरले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको संचाल समितिको फागुन १२ गते बसेको १ः०.५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, हिमालयन ऊर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
त्यस्तै, रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिकित्ता १०० रुपैयाँ दरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बरारबको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
रिडीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपूँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ ।
त्यस्तै, घलेम्दी हाइड्रो लिमिटेडले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले सांग्रिला ऊर्जा प्रालिद्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत् आयेजनामा कम्तीमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।