काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश फेरि संशोधन भएको छ ।लघुवित्त संचालक समितको चैत ९ गते बसेको बैठकले यसअघि घोषणा संशोधन गरेको लाभांशलाई पुनः संशोधन गरेको हो ।
पछिल्लाे निर्णय अनुसार अब लघुवित्तका सेयरधनीले १४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद गरी कुल १४.९९ प्रतिशत लाभांश पाउने छन् ।
कम्पनीले यसअघि घोषणा गरेको लाभांशभन्दा अहिले आधाभन्दा धेरैले घटेको हो । यसअघि लघुवित्तले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.१५ नगद गरी कुल ३३.१५ लाभांश दिने घोषणा गरेको थियो ।
पहिलोपटक लघुवित्तले २८ प्रतिशत बोनस सेयर र करसहित ९.३६ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । तर, पछि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार घटाएर ३३.१५ प्रतिशत दिने गरी संशोधन गरेको थियो ।
संशोधित लाभांश पारित गर्न लघुवित्तले चैत ३० गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा केन्द्रीय कार्यालय, कटहरी, मोरङमा हुनेछ ।
साधरणसभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले चैत १७ देखि ३० गतेसम्म बुकक्लोज तोकेको छ । सो अनुसार चैत १६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।