स्मार्ट सिटीको फाइल घुमेकोघुम्यै, बजेट माग्दै अर्थ मन्त्रालय पुगेकाे उतै थन्कियाे

संकेतिक तस्वीर

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्र निर्माण गर्ने भनेको स्मार्ट सिटी (नयाँ सहर) अलपत्र परेको छ । सरकारले उपत्यकामा ४ वटा स्मार्ट सिटी बनाउने घोषणा गरेकाेमा एउटाको पनि काम अघि बढ्न नसकेको हो ।

४ वटा स्मार्ट सिटी मध्ये पहिलो चरणमा १ लाख रोपनी क्षेत्रफलको पूर्वी (इसान) स्मार्ट सिटी बनाउने निर्णय गरेको छ । तर, वर्षौंसम्म लगानी सुनिश्चित नहुँदा आयोजनाको काम अघि बढ्न नसकेको हो ।

लामो समय सहरी विकास मन्त्रालयमा थन्किएको इसान स्मार्ट सिटीको डिजाइन गत वर्ष मन्त्रिपरिषद्मा पुगेकाे थियाे भने अहिले अर्थमन्त्रालयमा थन्किएर बसेको छ । उक्त स्मार्ट सिटी निर्माणका लागि बजेट माग गर्दै दुई महिना अघि फाइल अर्थ मन्त्रालय पठाइएको थियो । हालसम्म मन्त्रालयले बजेट सुनिश्चित नगर्दा निर्माणका कुनै प्रक्रिया अघि बढाउन नसकिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी सौरब ढकालले १ लाख रोपनीको इसान नयाँ सहर निर्माण गर्न बजेट मागिए पनि अहिलेसम्म उपलब्ध नहुँदा काम अघि बढाउन नसकिएको बताए । उनका अनुसार यस विषयमा छलफल भइरहेको छ । स्मार्ट सिटी बन्ने क्षेत्रमा जग्गा फुकुवा गर्ने माग भइरहेकाले समेत थप अन्योलता थपिएको बताए ।

‘इसान स्मार्ट सिटी निर्माणका लागि हामीले अर्थमन्त्रालसँग बजेट माग गरेका छौं । अहिलेसम्म केही खबर आएको छैन,’ उनले चाणक्य पोष्टसँग भने, ‘एकातिर बजेट जुट्न सकेको छैन भने अर्कोतर्फ स्थानीयले जग्गा फुकुवा गर्न माग गरिरहेका छन् । यसले झन् अन्योलता बढाएको छ ।’ जग्गा फुकुवाका लागि अहिले छलफल भइरहेको तर, ठोस निर्णय हुन बाँकी रहेको उनले बताए ।

यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले फाइल क्याबिनेट र मन्त्रालय दुवैतिर पठाइएको बताए । उनका अनुसार नयाँ सहर निर्माणको फाइल अझै क्याबिनेटबाट स्वीकृत भइसकेको छैन । अर्थमन्त्रालबाट श्रोत सहमतिपछि मात्र स्वीकृत हुने छ ।

‘कसले कति प्रतिशत खर्च गरेर सहर निर्माण गर्ने भन्ने निर्णयका लागि अर्थमन्त्रालयमा पठाइएको छ, क्याबिनेटमा भएको ६ महिनापछि यस्तो कुरा आएर फेरि अर्थमन्त्रालयमा गएको हो,’ प्याकुरेलले चाणक्य पोष्टसँग भने । गत वैशाखमै पत्र मन्त्रालयबाट क्याबिनेटमा पठाइएको थियो ।

इसान स्मार्ट सिटी काठमाडौं र भक्तपुरका आधादर्जन पालिका समेटर बनाउने योजना छ । काठमाडौंका शंकरापुर, कागेश्वरी मनोहरा लगायतको जग्गा फुकुवा भए पनि भक्तपुरको मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको रोक्का नै छ ।

स्मार्ट सिटी बनाउने योजना विगत ७ वर्षदेखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको गुनासो रहेको छ । भक्तपुरनिवासी शुशीला दाहालले स्मार्ट सिटीका लागि भनेर जनताको जग्गा लामो समय रोक्का गरी राखिएको हुँदा धेरै घाटा बेहोर्नु परेको बताइन् ।

उनले रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरू ल्याउनुपर्ने बताइन् । ‘७ वर्षदेखि जग्गा रोकेको छ, हामीले न बेच्न पाउछ, न सरकारले केही गर्छ,’ उनले चाणक्य पोष्टसँग भनिन् ।

एकैपटक चारै स्मार्ट सिटी बनाउन असम्भव

उपत्यका विकास प्राधिकरणले ४ वटै नयाँ सहर (स्मार्ट सिटी) को डीपीआर पूरा गरी शहरी विकास मन्त्रालयमा पेश गरेको थियो । मन्त्रालयले त्यो मध्ये १ लाख रोपनीको इसान नयाँ सहरको निर्माण थालन गर्ने गरी बजेट माग गर्दै फाइल अर्थमन्त्रालयमा पठाएको हो ।

माग अनुसार बजेट सुनिश्चिता हुन नसक्दा नयाँ सहर योजना अल पत्र रहेको छ । उपत्यका विकास प्राधिकरणका अनुसार एकै पटक ४ वटै नयाँ सहर निर्माण सम्भव छैन । एउटा मात्र नयाँ सहर निर्माणका लागि वार्षिक ३ देखि ४ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।

एउटा नयाँ सहरको निर्माण पूरा गर्नका लागि २० देखि ३० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । ५ वर्षको योजना अन्तर्गत नयाँ सहर बनाउने लक्ष्य राखिएको छ । ढिलाई गरेसँगै प्रत्येक वर्ष ५ देखि १० प्रतिशतले निर्माण लागत बढ्दै जाने विज्ञहरू बताउँछन् ।

कस्ताे हुन्छ स्मार्ट सिटी ? 

प्राधिकरणले उपत्यकामा १ लाख रोपनीको एउटा र १० हजार रोपनीका ३ वटा गरी चार वटा नयाँ सडक बनाउने योजना बनाएको छ । नयाँ सहर निर्माणका क्रममा जग्गाधनीको ३० प्रतिशत जग्गा कटौती हुनेछ । त्यसको २० प्रतिशत जग्गा सडकमा आउने बताइएको छ । बाँकी ५ प्रतिशत खुल्ला मैदान र पार्कका लागि छुट्याइने छ ।

ल्याण्ड पुलिङ गरेर जग्गाको विकास गरेर उनीहरूलाई उपयोगका लागि फेरि फिर्ता दिइने छ भने त्यसमा मुआब्जा दिइने छैन । हरेक ठाउँमा ४ आनाको प्लटिङ गरेर राख्ने छ । नयाँ सहरमा न्यून्तम ६ मिटर सडकदेखि ५० मिटर चौडाइका सडक बनाइने छन् । खोलालाई बाढी आउँदा पोखरीमा जाने तरिकाले डीपीआर डिजाइन गरिएको छ ।

नयाँ सहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, पुलीस्स्टेसन, स्कुल, सहरी विकासका भौतिक पूर्वाधारहरू विकास गरिने छ । हालसम्म डीपीआर निर्माणका लागि १६ करोडको हाराहारीमा खर्च भइसकेको छ । नयाँ सहरको डीपीआर बनाउने क्रममा १ लाख रोपनीको इसान सहरको डीपीआरका लागि मात्र १० करोडको हाराहारीमा खर्च भएको छ । अन्य १० हजार रोपनीका नयाँ सहर निर्माणका लागि २/२ करोड रुपैयाँ खर्च भएको छ ।

 

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन Read Next

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन