मुग्लिन-पोखरा सडक विस्तार सुस्त, लक्ष्यको आधाभन्दा कम प्रगति

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार सुस्त गतिमा भइरहेको छ । हाल दुई लेनमा रहेको यो सडकलाई गत वैशाखदेखि दुई खण्डमा विभाजन गरी चार लेनको बनाउन सुरू गरिएको सडक विस्तारले गति लिन नसकेको हो ।

रुख कटानमा ढिलाइ, बिजुलीको पोल सार्न ढिलाइ, खानेपानीका पाइप लगायत कारणले सडक विस्तले गति लिन नसकेको हो । चालु आवमा आयोजनाको समग्रमा २५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य भए पनि हालसम्म आधाभन्दा कम अर्थात् १० प्रतिशत मौ भौतिक प्रगति भएको छ ।

मुग्लिन–पोखरा सडक योजनाका प्रमुख अमितकुमार श्रेष्ठले बिजुलीका पोल, खानेपानीका पाइपका कारण विस्तारले गति लिन नसकेको बताए । ‘अझै बिजुलीका पोल, खानेपानीका पाइपहरू हटाइसकिएको छैन । पोखरामा ६ लेन बनाउने ठाउँमा साइट क्लियरेन्स नै भएको छैन,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने, ‘भने जस्तो काम हुन सकेको छैन, चालु आवमा करिब २५ प्रतिशत काम सक्ने भनेको छ, हालसम्म १० प्रतिशत मात्र काम सकिएको छ ।’

उनले हाल पर्खाल निर्माण, पुल कुलेसो बनाउने काम भइरहेको बताए । उनका अनुसार जामुनदेखि पोखरासम्म पोलहरू हटाउन बाँकी रहेको छ । पोल सार्न विद्युत प्राधिकरणले ठेक्का लगाइसकेको उनले जानकारी दिए । यस खण्डमा खानेपानीका २५ योजनाहरू रहेका छन् । त्यसलाई पनि व्यवस्थित गर्न लागेको उनले बताए ।

काम सुस्त गतिमा भएका कारण तोकिएको समयमै निर्माण नसकिने उनले बताए । ‘लक्ष्य अनुसार प्रगति हुन सकेका छैन । यही गतिमा कम भए तोकिएको समयमै सकिने संकेत देखिँदैन । म्याद थप्नु पर्ने पनि हुनसक्छ,’ उनले भने ।

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–पोखरा सडकलाई दुई भागमा विभाजन गरेर काम भइरहेको छ । दुवै खण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनीले लिएको छ । २०७७/७८ मा एशियाली विकास बैंकको ऋण सहयोगमा सुरू भएको हो ।

यस आयोजना अन्तर्गत आँबुखैरेनी–जामुने र जामुने–पोखरासम्म दुई खण्डमा काम भइरहेको हो । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको पूर्व खण्डमा आँबुखैरेनी–जामुन्ने खण्डको सडक विस्तारको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ लाख रुपैयाँ लागतमा उक्त सडक खण्डको ठेक्का जिम्मा लिएको हो । ४१ किलोमिटर लम्बाइको ठेक्का हो ।

यसमा ४ लेनको सडक बन्ने छ । बजारमा बस्ती विकास भएका ठाउँमा अतिरिक्त दुई लेन बनाइने छ । यस खण्डको निर्माण अवधि ३ वर्ष रहेको छ । निर्माण सुरू भएको अहिले २ वर्ष भइसकेको छ । कम्पनीले निर्माण सकेको १ वर्ष मर्मत गर्नुपर्नेछ भने बाँकी ५ वर्ष सडकमा केहि भए कम्पनी आफैले बेहोर्नुपर्नेछ ।

यस्तै, जामुनेदेखि पोखरासम्म ३९ किलोमिटर लम्बाइको यो खण्डमा सम्झौता मे २०२१ मा भएको हो । हालसम्म यसको भौतिक प्रगति ५ प्रतिशत समेत पुग्न सकेको छैन । यस आयोजनाको ठेक्का अनहुई काईयूअन हाइवे एण्ड ब्रिजको लिमिटेड चिनियाँ कम्पनीले पाएको छ ।
यस आयोजनामा साना ठूला गरी १४ वटा पुल निर्माण गर्नुपर्नेछ । ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ लागतमा बन्दै गरेको यस आयोजना निर्माणका लागि १५ प्रतिशत सुरूको लागत भुक्तानी गरिसकेको छ ।

आँबुखैरेनी–पोखरासम्म कुल लम्बाइ ८०.२५ किलोमिटर रहेको छ । २ लेनको यस खण्डलाई चार लेनमा विस्तार गरिदैछ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ ७/७ मिटरको हुनेछ । सडकको दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुन्छ । ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्ट्याइएको हुनेछ । पैदल यात्रुका लागि एक/एक मिटरको फुटपाथ हुनेछ ।

 

वीरगञ्जमा पहिलो पटक ‘रात्रि बजार’ संचालन गर्ने तयारी Read Previous

वीरगञ्जमा पहिलो पटक ‘रात्रि बजार’ संचालन गर्ने तयारी

मेघौली विमानस्थलको स्तरोन्नति गरिँदै, धावनमार्गमा ग्राबेल बिछ्याइने Read Next

मेघौली विमानस्थलको स्तरोन्नति गरिँदै, धावनमार्गमा ग्राबेल बिछ्याइने