विमान दुर्घटना जाँच आयोगको म्याद थपियो

फाइल तस्वीर

काठमाडौं । सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो ।

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

लक्ष्यको ८० प्रतिशत मात्रै उठ्यो राजस्व Read Previous

लक्ष्यको ८० प्रतिशत मात्रै उठ्यो राजस्व

मन्त्रीले अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न नपाउने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय Read Next

मन्त्रीले अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न नपाउने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय