काठमाडौं । सेयर बजारमा उछाल आएको छ । लगातार ९० अंकले घटेर मंगलबारदेखि उकालो लागेको नेप्से आज उच्च अंकले बढेको हो ।
बैंकहरुले चैतदेखि बचतको ब्याजदर र ऋणको प्रिमियम घटाउने भएसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।
बिहीबार बसेको बैंकर्स संघको बैठकले साधरण बचतको ब्याजदर ०.४२ प्रतिशत र प्रिमियम १ प्रतिशत घटाउने निर्णय गरेको छ । यसले कर्जाको ब्याजसमेत घटाउने भएकाले लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा आज उछाल आएको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३६ करोडले बढेर डेढ अर्ब नाघेको छ ।
बिहीबार नेप्से ५०.०४ अंकले बढेर २००२.७० बिन्दुमा पुगेको छ । यसदिन २६२ कम्पनीको १ अर्ब ५६ करोड रुपैयाँ बढीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएकाे छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ३.५९ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरीको साढे ५ करोड र अरुण काबेली साढे ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा शुभम पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएक छन् ।
त्यसैगरी, नेपाल इन्स्योरेन्स ९.४४, शिव श्री हाइड्रोपावर ८.५२, जोशी ७.४३, अजोड इन्स्योरेन्स ७.४२, युनियन हाइड्रोपावर, लुम्बििनी जनरल, पिपुल्स हाइड्रोपावर र आदर्श लघुवित्तको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।