मोदी इनर्जीको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । मोदी इनर्जी लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधारण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र ८ तथा मोदी गाउँपालिका–२, ५, र ६ का स्थानीय बासिन्दाका लागि २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कशन गरेको छ ।

त्यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार कित्ता सेयर निष्काशन गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा आगामी चैत २४ मा हुने कम्पनीले जनाएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्रै आवेदन दिनुपर्ने छ ।

स्थानीय बासिन्दाले सेयर खरिदको आवेदन सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक तथा कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन बीबी प्लस इस्यूअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले पर्वतमा २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको छ ।

आय विवरण दाखिला गर्ने करदाता ठूलो संख्यामा घटे, कारण खोज्दै विभाग Read Previous

आय विवरण दाखिला गर्ने करदाता ठूलो संख्यामा घटे, कारण खोज्दै विभाग

माइ खोला हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ? Read Next

माइ खोला हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?