‘खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना हुन्छ’

काठमाडौं । खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् ।

काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले मंगलबार काठमाडौंमा आयोजना गरको अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञहरूले अहिलेको विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र यही कारणले गर्दा खुला व्यापारको विकल्प नरहेको उनीहरूको धारणा थियो ।

तर, नेपालले विश्व व्यापार सगठनमा प्रवेश गरको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति लिनुपर्ने पनि औल्याए ।

इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, वैगलोर अन्तरगत साउथ एसिया वोर्ड एकेडेमी अफ इन्टरनेशनल विजिनेका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैमा अवसर ल्याउँछ । ‘यसले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधिले प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ,’ उनले भने ।

तर, उनले नेपालले आफ्नै स्थायीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा जोड दिए । ‘कुनै पनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ । स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्नसक्छ । व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धी हाँसिल हुनसक्छन्,’ उनले भने ।

उनका अनुसार व्यापार विविधीकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटन लगायतका क्षेत्रमा काम गर्नसक्छ ।

भारतीय सरकारको पूर्व वाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताए । ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो,’ उनले भने ।

उनका अनुसार अहिलेको समयमा सतप्रतिशत आत्मनिर्भर असम्भव छ । ‘यही कारणले गर्दा खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि छैन,’ उनले भने ।

अहिले विश्वमा बहुआयामिक आर्थिक संकटहरू देखिएको तर यो संकट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उनको दाबी छ ।

कारोना महामारी, रुस युक्रेन युद्ध, अमेरिका चीनको व्यापारिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयामहरू देखिएको र त्यसको प्रभाव समय क्रममा देखिँदै जाने बताए ।

इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट उदइपुर का विजिनेश पोलिसी एण्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग हुने बताइन् । अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठूला कम्पनीहरू दृश्यमा बढी आए पनि पनि साना तथा मझौला उद्योग निकै महत्वपूण हुने उनको धारणा थियो ।

‘आफ्नै र सिर्जनशील किसिमको उत्पादन हुने यस्ता उद्योगका विकास निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन । ‘साना तथा मझौला उद्मीहरूका लागि इकोसिस्टम बनाउनुपर्छ र यस्ता उद्यमीलाई दिने सहायताको किफायति बाटो लिनपर्छ ।’

काठमाडौ विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको व्यापार उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताए ।

नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिवाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको बताए । यस्ता असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने उनले विश्वास व्यक्त गरे । ‘विश्वविद्यालयका रुपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौं । अझै नयाँ युगको आवश्यकता अनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौं,’ उनले भने ।

डब्ल्यूटीओ चेयरस प्रोगामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताए ।

सोही मुताविक नेपालमा पनि डब्ल्यूटीओ चेयरस प्रोगाम कार्यान्वयन भइरहेको उनले बताए । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा डब्ल्यूटीओ चेयरस प्रोगाम–नेपालका अध्यक्ष प्रोफेसर डा. देवी प्रसाद बेडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौती पनि रहेको बताए ।

‘हामी अझै सिर्जनशील हुन आवश्यक छ किनभने नेपाल पहिले नै औद्योगीककरण कमजोर छ अनि उपयुक्त शिक्षा तथा तालिम, बजार अनुसारको सीप विकास गर्नुपर्ने जस्ता थुप्रै चुनौती छन्,’ उनले भने, ‘डब्ल्यूटीओ चेयरस प्रोगाम अन्तर्गत यस्तै विषयमा प्राज्ञिक तथा व्यवहारिक कामहरू हुनेछन्।’

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार तथा डब्ल्यूटीओ चेयरस प्रोगामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकोले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताए ।

ठूला छिमेकीले इतिहासमा आफ्नो भू-राजनीतिक स्वार्थ पूरा गर्न व्यापारलाई रणनीतिक वस्तुको रुपमा उपयोग गरेकाले व्यापार विविधीकरण महत्वपूर्ण रहेको उनको भनाई थियो । वस्तु निर्यातमा कमजोर रहँदारहदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उनको भनाइ थियो । ‘उच्च शिक्षा, उच्च स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय हवाइ सेवामा नेपाल खुद आयातकर्ता हो ।’

उनले सन् २००४ मा नेपाल विश्व व्यापर संगठनमा आवद्ध भएपछि निर्यात वढाउन अपनाइएका धेरै नीतिहरू असफल रहेको बताए । यी निीतिहरू उत्पादकत्व वढाउन र व्यापार घटाउन असफल रहेको र यसको लागि प्राज्ञिक र व्यहारिक अनुसन्धान आवश्यक हुने बताए । व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित यो अन्तराष्ट्रिय सम्मेलन बुधबारसम्म चल्नेछ ।

एनआइसी एशिया बैंकद्वारा १० लाख बीमा रकम हस्तान्तरण Read Previous

एनआइसी एशिया बैंकद्वारा १० लाख बीमा रकम हस्तान्तरण

सर्लाहीमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा Read Next

सर्लाहीमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा