काठमाडौं । सेयर बजारमा ‘हटकेक’ मानिने लघुवित्त कम्पनीहरूको सेयर भाउ निकै सस्तिएको छ । समग्र सेयर बजारमा आएको गिरावट, नेपाल राष्ट्र बैंकको अंकुश र लाभांशपछि सेयर मूल्य समायोजन हुँदा लघुवित्तहरूको सेयर मूल्यमा भारी गिरावट आएको हो ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत १३ समूहका कम्पनी मध्ये उत्पादनमूलक क्षेत्रका कम्पनीपछि सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हुन् लघुवित्त ।
तुलनात्मक रुपमा अन्य क्षेत्रका कम्पनीकोभन्दा थोरै चुक्ता पूँजी र लाभांश धेरै बाँड्ने भएकाले लघुवित्तहरूको सेयर महँगो हुने गर्दछ । तर, पछिल्लो डेढ वर्षको अवधिमा अधिकांश लघुवित्तको सेयर मूल्य आधाभन्दा धेरैले घटेर निकै तल आइपुगेको छ ।
२०७८ भदौमा नेप्से इतिहासकै सर्वाधिक उच्च बिन्दु ३२०० पुगेको बेला लघुवित्त कम्पनीहरूको औसत सेयर मूल्य नै प्रतिकित्ता २ हजार रुपैयाँ हाराहारी थियो । त्सबेला कुनै पनि लघुवित्तको सेयर १५०० रुपैयाँ भन्दा तल पाइँदैन्थ्यो भने अधिकतम प्रतिकित्ता ५६०० रुपैयाँसम्म पुगेको थियो ।
तर, त्यसयता लगातार ओरालो लागेको लघुवित्तहरूको सेयर मूल्य घटेर अहिले प्रतिकित्ता औसत ९५० रुपैयाँमा सीमित भएको छ । हाल लघुवित्तको कम्पनीको अधिकतम सेयर मूल्य प्रतिकित्ता २४५० रुपैयाँ छ भने न्यूनतम ४८८ रुपैयाँ मात्रै छ ।
सेयर बजार घट्दा सामान्य रुपमा घटेका लघुवित्तको सेयर मूल्य यही फागुनदेखि भने ह्वात्तै घटेका हुन् । नेपाल राष्ट्र बैंकले फागुन १० गते एकीकृत निर्देशिका जारी गर्दै लघुवित्तको लाभांश वितरण र कर्जा लगानीमा कडाइ गरेपछि भाउ ह्वात्तै घटेको हो ।
लघुवित्तले नियम विपरीत ऋण लगानी गरेको र महँगो ब्याज लिएको भन्दै आन्दोलन चर्किन थालेपछि राष्ट्र बैंकले लघुवित्तको व्यवसायकै अंकुश लगाएको हो । यद्यपि, राष्ट्र बैंकको कदम समस्याको समाधान भने होइन ।
राष्ट्र बैंकले एकभन्दा बढी लघुवित्त कम्पनीबाट पनि ऋण लिन नपाउने, बैंकबाट ऋण लिएकाले लघुवित्तबाट ऋण लिन नपाउने, कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेपको ब्याजदर तय गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । यी व्यवस्थाले लघुवित्तको व्यवसाय र आम्दानी प्रभावित हुनेछ ।
त्यस्तै, राष्ट्र बैंकले लघुवित्त कम्पनीको लाभांश वितरणमा पनि कडाइ गरेको छ । वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गर्ने लघुवित्त संस्थाले त्योभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । यसअघि २० प्रतिशतभन्दा बढी लाभांश वितरणमा त्यस्तो लाभांशको ५० प्रतिशत बराबर जगेडा कोषमा राख्नुपर्ने व्यवस्था रहेको थियो ।
राष्ट्र बैंक लघुवित्तको कर्जा लगानी र लाभांशमा कडाइ गरेपछि लघुवित्तहरूको सेयर मूल्यमा पहिरो गएको छ । पछिल्लो दुई साताको अवधिमा मात्रै लघुवित्तहरूको सेयर मूल्य औसतमा झन्डै २५ प्रतिशतले घटेको छ । समग्र सेयर बजार घट्दा लघुवित्तको सेयर मूल्य पनि घट्नु स्वभाविक रहे पनि राष्ट्र बैंकको कदमपछि भने पहिरो गएको हो ।
५०० हाराहारीमा पाइन्छ आधा दर्जन लघुवित्तको सेयर
डेढ वर्षअघि १५०० रुपैयाँभन्दा कममा नपाइने लघुवित्तको सेयर अहिले ५०० रुपैयाँमै पाइन थालेको छ । नेप्सेमा सूचीकृत ५९ लघुवित्तमध्ये ७ लघुवित्तको सेयर मूल्य ६०० रुपैयाँभन्दा कम रहेको छ ।
जसमा ग्रामीण विकास लघुवित्तको सेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता ४८८ रुपैयाँ रहेको छ । त्यसैगरी, आरएसडीसी ४९६, फर्स्ट र नाडेप ५६५, एनएबी ५७२, मेरो माइक्रोफाइनान्स ५७५ र एनआइसी एशिया लघुवित्तको सेयर मूल्य ५९० रुपैयाँ रहेको छ ।
त्यस्तै, एकदर्जन लघुवित्तको सेयर मूल्य ६०० देखि ७०० रुपैयाँ, ११ वटाको ७०० देखि ८०० रुपैयाँ र १२ लघुवित्तको सेयर मूल्य ८०० देखि ९०० रुपैयाँको बीचमा रहेको छ भने अरु डेढ दर्जन लघुवित्तको सेयर मूल्य २ हजार रुपैयाँभन्दा कम छ ।
५९ लघुवित्तमध्ये जम्मा ३ लघुवित्तको सेयर मूल्य २ हजार रुपैयाँ बढी छ । जसमा नेष्डो समृद्धिको सबैभन्दा धेरै २४५० रुपैयाँ छ । ६ महिनाअघि यसको सेयर मूल्य प्रतिकित्ता झन्डै ४ हजार रुपैयाँ भएको छ ।
कुनैबेला प्रतिकित्ता ४ हजारमाथि पुगेका हटकेक जीवन विकास, महिला, जाल्पा, उपकार, नेशनल, श्रशृजनशील, फरवार्ड लगायत लघुवित्तको सेयर मूल्य अहिले १५०० देखि २ हजार रुपैयाँको बीचमा रहेको छ ।