शिवम् सिमेन्टको सेयर मूल्य ४ वर्ष यताकै सस्तो, किन लगातार घटिरहेछ भाउ ?

काठमाडौं । सेयर बजारमा कुनै बेला ‘हटकेक’ बनेको उत्पादनमूलक कम्पनी शिवम् सिमेन्टको सेयर मूल्य ४ वर्ष यताकै सस्तो भएको छ ।

२०७८ भदौ ३ गते इतिहासकै उच्च प्रतिकित्ता १९१० रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्यमा डेढ वर्ष यता लगातार गिरावट आएसँगै ४ वर्ष यताकै सस्तो भएको हो ।

आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५० रुपैयाँमा कारोबार भएको छ । यो पछिल्लो ४ वर्ष यताकै कम हो । यसअघि २०७६ मंसिर २६ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४९ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो डेढ वर्षम मात्रै शिवम्को सेयर मूल्य प्रतिकित्ता १४६० रुपैयाँ अर्थात् ७६.४३ प्रतिशतले घटेको छ । समग्र सेयर बजारमा आएको गिरावट, कम्पनीको घट्दो व्यापार, घट्दो लाभांश क्षमता र संस्थापक सेयरधनी सेयर बेचेर बाहिरिएसँगै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको हो ।

संचालनमा आएदेखि नै आकर्षक वित्तीय विवरण सार्वजनिक गर्दै आएको कम्पनीको पछिल्लो १ वर्ष यता नाफा घट्दो क्रममा छ । विगतका वर्षहरुमा औसतमा २५ प्रतिशत बढी लाभांश दिँदै आएको कम्पनीले गत वर्ष १० प्रतिशत मात्रै लाभांश दिएको छ । घट्दो नाफा र लाभांशका कारण कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण नहुँदा सेयर मूल्यमा लगातार गिरावट आएको हो ।

त्यस्तै, केही महिनाअघि संस्थापक सेयरधनीहरु सेयर बेचेर बाहिरिएको हल्ला चलेसँगै कम्पनीको सेयर मूल्य तीव्र गतिमा ओरालो लागेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म कम्पनीले ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशत कम हो । कम्पनीले गत वर्षको सोही अवधिमा ४२ करोड ७३ लाख नाफा कमाएको थियो ।

अन्य आम्दानी बढे पनि सञ्चालन आम्दानीमा भारी गिरावट आउँदा कम्पनीको नाफा घटेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी २७.३७ प्रतिशतले घटेर ३ अर्ब ३४ करोडमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ६० करोड थियो ।

कम्पनीको अन्य आम्दानी भने २२८८.८६ प्रतिशतले बढेर ३२ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल खर्च १८.८२ प्रतिशतले घटाउन सफल भएको छ । समीक्षा अवधिमा कुल खर्च ४ अर्ब ११ करोडबाट ३ अर्ब ३३ करोडमा झारेको छ ।

हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ७० करोड संचिति छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.४२ रुपैयाँबाट घटेर १४.९६ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६.८५ रुपैयाँ छ ।

 

 

एभरेष्ट बैंकद्धारा छावृत्तिका लागि नेपाल  प्रहरीलाई २५ लाख सहयोग Read Previous

एभरेष्ट बैंकद्धारा छावृत्तिका लागि नेपाल प्रहरीलाई २५ लाख सहयोग

यस वर्ष चीनको आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत Read Next

यस वर्ष चीनको आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत