काठमाडौं । होली पर्वलाई मध्येनजर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न ६८ स्थानमा चेक पोइन्ट राखेको छ ।
होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यले काठमाडौं उपत्यकाका सबै नाकासहित विभिन्न स्थानमा सवारी चालकलाई लक्षित गरेर चेक पोइन्ट राखेको हो ।
त्यस्तै, विभिन्न १९ स्थानबाट मोबाइल भ्यानले नियमित गस्ती समेत गरिरहेको छ । होलीको बहानामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, हेलमेट नलगाई सवारी साधन चलाउने, मोटरसाइकलमा ३ जना यात्रा गर्ने र तीव्र गतिमा सवारी साधन चलाउने सवारी साधनका चालकलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै, सवारी साधनको प्रयोग गरी रंग लोला हान्ने, अभद्र व्यवहार गर्ने, लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँने, लापरबाहीका साथ सवारी चलाउने लगायत विभिन्न ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई समेत चेकिङमा कडाइ गरी नियन्त्रणमा लिइने छ ।
त्यस्तै, क्षमताभन्दा बढी यात्रु राखी सवारी साधन चलाउने, ठूलो आवाज निकाल्ने तथा मोडिफाइ गरी सवारी साधन चलाउने, नम्बर प्लेट स्पष्ट नराख्ने, जथाभावी हर्न बजाउने लगायतका अन्य ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई समेत लक्षित गरेर चेकजाँच गरी नियन्त्रणमा लिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई मर्यादित र व्यवस्थित तरिकाले मनाउन समेत सबैमा अनुरोध गरेको छ ।