महेन्द्रनगर खण्डमा पनि सुरू भयो पूर्व-पश्चिम राजमार्ग विस्तारको काम

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रु ८ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो ।

यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौटले बताए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा १ हजार २०० मिटर सडक स्तरोन्नति भइरहेको छ । सडक स्तरोन्नति सकिएसँगै कालोपत्रे गर्ने कार्य हुने सूचना अधिकारी चटौतले बताए ।

‘दश पाइप कल्भर्ट चौडा गर्ने अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सडकको चौडाइ बढाएर चार लेनको बनाउनका लागि कार्य अगाडि बढेको छ ।’ ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक/एक लेन थप्ने कार्य भइरहेको उनको भनाइ छ । गत वर्ष सडक वोर्डबाट राजमार्गको भाँसी सडकखण्ड चौडा गर्ने कार्य गरिएको थियो ।

गड्डाचौकी, दैजी, सिसैयालगायत सडकखण्डमा सडक चौडा गर्ने कार्य यसअघि नै गरिएको छ । सडक चौडा गर्ने कार्यका लागि मुमताज कन्ट्रक्सन, जसलिङ्ग जेभी र कल्भर्ट चौडा गर्नका लागि मैनाचुली जेभीसँग ठेक्का सम्झौता गरिएको छ । पुराना ठेक्काबाट बचेको रकमबाट पुनःबोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको कार्य अगाडि बढाइँदै आएको छ । चालु आवको असार मसान्तसम्म सडक र कल्भर्ट चौडा गर्ने कार्य पूरा गर्नका लागि समय सीमा निर्धारण गरिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सात वटामा सडक निर्माणको कार्य गरी रहेको छ । ‘जग्गा प्राप्ति नहँुदा एक वटा निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति कार्य अगाडि बढ्न सकेको छैन,’ सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भने, ‘बाँकी सातमा कार्य अगाडि बढेको छ ।’

सडक स्तरोन्नतिको प्रगति हालसम्म १५ प्रतिशतसम्म छ । ‘दुई वर्षभित्रै सडक स्तरोन्नति गरी सक्नुपर्ने गरी ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ,’ उनले भने, ‘सातवटै सडक स्तरोन्नतिका लागि रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ ।’ सात वटै सडक ८ देखि १० किलोमिटरका रहेका छन ।रासस

बागमती प्रदेशकाे 'करार खेती कार्यक्रम', बाँझो जमिनमा खेती गर्नेको भाडा सरकारले तिर्दिने Read Previous

बागमती प्रदेशकाे 'करार खेती कार्यक्रम', बाँझो जमिनमा खेती गर्नेको भाडा सरकारले तिर्दिने

प्राधिकरणले थप ४ ठाउँमा चार्जिङ स्टेशन बनाउने, टेन्डर आह्वान Read Next

प्राधिकरणले थप ४ ठाउँमा चार्जिङ स्टेशन बनाउने, टेन्डर आह्वान