फेरि मौलाउँदै कित्ताकाट, माघमा चालु वर्षकै धेरै टुक्रा पारियो

काठमाडौं । गत जेठ यता ओरालो लागेको जग्गाको कित्ताकाट फेरि बढ्न थालेको छ । टुक्रा जग्गाको अभाव र बैंकबाट सहजै ऋण पाउने अवस्था नहुँदा ओरालो लागेको कित्ताकाट असाेजदेखि भने लगातार बढेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार माघमा चालु वर्षकै सर्वाधिक जग्गा कित्ताकाट भएको छ । यो महिना २४ हजार ५६९ कित्ता जमिनलाई ५४ हजार ७७८ टुक्रा पारिएको छ । यो पछिल्लो ८ महिना यताकै धेरै हो ।

खेतीयोग्य जमिनको खण्डीकरण बढेपछि सरकारले गत जेठमा भूउपयोग नियमावली मार्फत जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट गर्नु पर्ने व्यवस्था गरेको थियो । सोही अनुसार जग्गालाई कृषि र गैरकृषिमा वर्गीकरण गरिसकेको स्थानीय तहहरुले जमिनको कित्ताकाट खुकुलो बनाएका छन् । यद्यपि, अधिकांश स्थानीयतहले जमिनको वर्गीकरण नगरेको विभागकै अधिकारी बताउँछन् ।

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ भने ब्याजदर पनि घट्ने क्रममा छ । जसको प्रभाव घरजग्गा कारोबारमा समेत सुधार देखिन थालेको छ ।

घरजग्गा व्यवसाय गत वर्ष जस्तो नबढे पनि क्रमशः सुधार हुँदै गएको देखिन्छ । आगामी दिनमा कित्ता झनै बढ्दै जाने व्यवसायीहरू बताउँछन् । जमिन वर्गीकरण गर्न बाँकी रहेका स्थानीय तहहरूले पनि क्रमशः आफ्नो क्षेत्रको जमिन वर्गीकरण गरी कित्ताकाट खुलाउने उनीहरूको भनाइ छ । विभागको तथ्यांक हेर्दा सहरी र सहरउन्मुख क्षेत्रहरूमा कित्ताकाट मौलाएको छ ।

सहरी क्षेत्रमा भएको जनसंख्या वृद्धि, आवास निमार्णको तीव्र आकांक्षा र भूमाफियाको सक्रियताले जमिनको कित्ताकाट बढ्दै गएको देखिन्छ ।

कुन महिना कति कित्ताकाट ?

विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ९८ हजार जमिनको कित्ताकाट गरेर २ लाख १३ हजार बनाइएको छ । गत वर्षको माघ मसान्तसम्म ४ लाख ३८ हजार कित्ता जमिनलाई १० लाख टुक्रा पारिएको थियो ।

चालु वर्षको माघमा सबैभन्दा धेरै २४ हजार ५६९ कित्ता जमिनलाई ५४ हजार ७७८ टुक्रा बनाइएको छ । त्यसैगरी, पुसमा २१ हजार ७८४ जग्गालाई टुक्रयाएर ४९ हजार १०४ टुक्रा, मंसिरमा १३ हजार २२१ वटा जग्गालाई कित्ताकाट गरी ३० हजार ८२७ टुक्रा बनाइएको थियो ।

चालु वर्षको साउनमा ८ हजार ७८५ जग्गालाई कित्ताकाट गरी १५ हजार ३०५ टुक्रा, भदौमा १० हजार ९२२ कित्ताकाट गरी २१ हजार ८७७ टुक्रा, असोजमा ९ हजार ४२६ जमिनलाई १९ हजार १७८ टुक्रा र कात्तिकमा १० हजार ५४४ जमिनलाई २२ हजार ३६५ टुक्रा पारिएको विभागले जनाएको छ ।

एनआइसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त  Read Previous

एनआइसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त 

सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० ऐन संशोधन गरिँदै, कुन कानुनमा कस्तो संशोधन हुँदैछ ? Read Next

सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० ऐन संशोधन गरिँदै, कुन कानुनमा कस्तो संशोधन हुँदैछ ?